शारदीय नवरात्रको पाँचौँ दिन : देवी स्कन्दमाताको पूजा–आराधना

 

रुपन्देही , असोज ११ –
शारदीय नवरात्रको पाँचौँ दिन आज देशभर देवी स्कन्दमाताको पूजा–आराधना गरिँदैछ । आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दकुमारकी आमा स्कन्दमाताको विशेष पूजन गर्ने परम्परा छ ।

कमलको फूलमा आसन जमाएर सिंह वाहनमा विराजमान स्कन्दमाता चार हात भएकी देवी हुन् । दाहिने माथिल्लो हातमा पुत्र स्कन्दकुमारलाई काखमा सम्हालिरहेकी उनीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको पूजाले भक्तजनको सबै इच्छा पूरा हुने, अलौकिक तेज प्राप्त हुने र अन्ततः मोक्ष लाभ हुने विश्वास गरिन्छ ।

धार्मिक ग्रन्थका अनुसार स्कन्दमाताको पूजा गर्दा केवल देवी माताको मात्र नभई भगवान कार्तिकेयको पनि आराधना गरिएको फल प्राप्त हुन्छ । भक्तपुराणमा स्कन्दमातालाई सुर्यमण्डलकी अधिष्ठात्री देवी मानिएको छ ।

पूजा सामग्रीमा देवीको प्रतिमा वा चित्र, रातो वा सेतो आसन, सेतो वा कमल फूल, कलश, नारिवल, पञ्चपल्लव, फलफूल, पान, सुपारी, धूप, बत्ती, पञ्चामृतसहित धारणीय सामग्री प्रयोग गरिन्छ ।

आजको दिन हरियो रङको कपडा लगाएर उत्तरतर्फ मुख फर्काई देवीको आराधना गर्ने परम्परा छ । व्रतबन्धन, मन्त्रपाठ, आरती र प्रसाद ग्रहणमार्फत नवरात्रको पाँचौँ दिनको पूजा सम्पन्न गर्ने प्रचलन रहिआएको छ ।

शास्त्रमा उल्लेख भएअनुसार स्कन्दमाताको उपासनाले धार्मिक आस्थासँगै मानसिक शान्ति, पारिवारिक सम्बन्धमा मजबुती र सामाजिक मूल्य–मान्यतामा दृढता प्राप्त हुने विश्वास गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation