रुपन्देहीमा ‘जेनजि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रिया सम्पन्न

शंकर प्रसाद पोख्रेल

बुटवल, असोज ११ –
नेकपा रुपन्देहीको आयोजनामा शनिबार ‘जेनजि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, पत्रकार, व्यवसायी तथा समाजका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य बसन्त सिले नेपालको तत्कालीन राजनीतिक संकट समाधानका लागि साझा एजेन्डा तय गरी छलफल अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले विद्यमान संकट पार गर्न सबै दलहरूको संयुक्त पहल अपरिहार्य रहेको बताउनुभयो ।

जेनजि आन्दोलनका अगुवा बिष्णुबहादुर राउतले नयाँ दलहरू सच्चिएर मात्र अघि बढ्न सक्ने बताउँदै देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका दिनेश पाण्डेले जेनजि विद्रोह सफल कि असफल भन्ने विषयमा स्पष्ट मूल्याङ्कन गर्नुपर्ने भन्दै दलहरूको कमजोरीकै कारण वर्तमान अवस्था आएको टिप्पणी गर्नुभयो । उहाँले छलफल केवल बैठक कोठाभित्र सीमित नराखी जनतामाझैँ कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी बार एसोसिएसनका अध्यक्ष गोविन्द मरासिनी, मानव अधिकारकर्मी अर्जुन ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठ, क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, नेकपा (माओवादी केन्द्र) बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसाल, नेकपाका नेता सरद ओली, एमाले नेता तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईलगायतले पनि आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सिले गर्नुभएको थियो ।

वक्ताहरूले जेनजि विद्रोहले उठाएका प्रश्नहरू आज पनि सान्दर्भिक रहेकोमा जोड दिँदै यसको स्पष्ट मूल्याङ्कन, नयाँ राजनीतिक सहमति र दीर्घकालीन निकास खोज्न सबै शक्तिहरू गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation