अहिलेका राजनीतिक घटना सबै असंवैधानिक हुन : रस्मिराज नेपाली

 

दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले अहिले भएका संसद् विघटन र मन्त्रिपरिषद् गठनजस्ता राजनीतिक घटना असंवैधानिक भएको बताएका छन्।

गढवा गाउँपालिका कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उनले भने, “यो संविधानले मात्र जनताको मुक्ति हुन्छ भन्ने होइन। तर तरल राजनीतिक अवस्थालाई संवैधानिक प्रावधान मिचेर अगाडि बढाइने हो भने देशको सार्वभौमसत्तासमेत गुम्न सक्छ।” उनले राजनीतिक संकट समाधान संवैधानिक बाटोमै खोज्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले २०४७ सालयता भएका कुसासनका कारण नागरिकमा निराशा उत्कर्षमा पुगेको र त्यसकै अवसर पारेर साम्राज्यवादी शक्तिहरूले अस्थिरता ल्याउन खोजेको आरोप लगाए। उनले देशको पहिचान नै समाप्त पार्ने प्रयास भइरहेको बताए।

त्यसैगरी अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेलले जनमोर्चाले उठाउँदै आएका राजनीतिक मुद्दा इतिहासमै प्रमाणित सही भएको धारणा राखे। अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिमा आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य दिनमणि आचार्य, अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला कोषाध्यक्ष ठाकुर खनाललगायतले पनि मन्तव्य प्रस्तुत गरेका थिए।

प्रशिक्षण कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, अखिल नेपाल किसान संघका पूर्व कोषाध्यक्ष प्रेम आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गुणनिधि शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघका जिल्ला सदस्य चिन्ता पोख्रेल, जातीय समता समाजका जिल्ला सदस्य सूर्य नेपाली, अखिल नेपाल महिला संघ गढवा गाउँपालिका अध्यक्ष उमा पन्थीलगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रम गाउँपालिका अध्यक्ष कपिलदेव खनालको अध्यक्षता, उपाध्यक्ष नवराज शर्माको स्वागत मन्तव्य र सचिव टुकमान कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation