काठमाडौं : पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ। भारत प्रतियोगिता अवधिभर अपराजित रहँदै उपाधि जित्न सफल भएको हो।
यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको रोमाञ्चक फाइनलमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तान १९.१ ओभरमा अलआउट हुँदै १४६ रनमा समेटियो।
भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै १५० रनसहित लक्ष्य पूरा गर्यो।
भारतको जितमा युवा ब्याटर तिलक वर्माले ५३ बलमा अविजित ६९ रनको शानदार पारी खेले। उनले ३ चौका र ४ छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याए। अन्तिम क्षणमा रिन्कु सिंहले चौका प्रहार गर्दै अविजित ४ रन जोड्दै भारतलाई उपाधि दिलाए।
भारतका लागि कुलदिप यादवले ४ विकेट लिँदै बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरे। अक्षर पटेल, वरुण चक्रवर्ती र जसप्रीत बुमराहले समान २–२ विकेट हात पारे।
पाकिस्तानका लागि साहिबजादा फरहानले ५७ रन र फखर जमानले ४६ रन बनाए पनि बाँकी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
यो जितसँगै भारतले एसिया कप क्रिकेटमा आफ्नो नवौं उपाधि जितेको छ।











