कपिलवस्तु, तौलिहवा ।
कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिको आयोजनामा प्रशिक्षण तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम शिवराज नगर समितिका उपाध्यक्ष मोहन विकको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केर सिंह अदैले जे.एन.जी. आन्दोलन र तत्कालीन राजनीतिक परिस्थिति बारे प्रकाश पार्दै ठूला दलहरूले राष्ट्रिय जनमोर्चाको नीति–कार्यक्रमलाई नबुझ्दा देश आज संकटमा परेको बताए। उनले अब देशको राजनीतिक निकास राष्ट्रिय जनमोर्चाको नारामार्फत मात्रै सम्भव हुने विचार व्यक्त गरे।
त्यस्तै, जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्दबहादुर केसीलगायत वक्ताहरूले देशको वर्तमान अवस्था, विदेशी हस्तक्षेप र समाधानका उपायहरूबारे धारणा राखेका थिए।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाका अध्यक्ष गोविन्द परिवार, अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्तुक) का जिल्ला सचिव रामबहादुर बुढाथोकी, अखिल नेपाल जनजाति सम्मेलन शिवराज नगर समितिका उपाध्यक्ष तारा घर्ति, मैतबहादुर सुनारलगायतको विशेष आतिथ्यता रहेको थियो।
विजय दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चाले ३ नं क्षेत्रअन्तर्गत विभिन्न स्थानहरूमा प्रशिक्षण र शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने जानकारी समेत दिइएको थियो। सचिव अदैका अनुसार शिवराजमा ७ ठाउँ, विजयनगरमा २, कृष्णनगरमा १ र महाराजगञ्जमा १ स्थानमा कार्यक्रम हुनेछन्।
आजको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नागराज योगीले गरेका थिए।











