नवरात्रको अन्तिम दिन: महानवमी पर्व मनाइँदै

काठमाडौँ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी श्रद्धापूर्वक मनाइँदैछ।

महानवमीका दिन घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोतलगायत देशभरका देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजाआराधना, दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिने परम्परा छ। यस दिन बोका, राँगा, हाँस र कुखुराको बलिसहित दुर्गा भवानीको पूजा गर्ने चलन छ भने शाकाहारीहरूले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवलको बलि अर्पण गर्ने गर्छन्।

महत्त्व
मार्कण्डेय पुराणअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकी थिइन्। त्यसैले यो दिनलाई विशेष महत्वका साथ मनाइन्छ। कतिपय शक्तिपीठमा आज पञ्चबलि (हाँस, कुखुरा, बोका, भेडा र राँगा) दिने प्रथा पनि प्रचलित छ।

नवौँ देवीको पूजा
नवरात्रको अन्तिम दिन आज नवदुर्गामध्येकी सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्यापूजा गर्ने, दक्षिणा दिने तथा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा गर्ने चलन रहेको छ।

कोतपूजा र निशानापूजा
महानवमीको अवसरमा परम्परागत रूपमा कोतहरूमा हर्षबढाइँसहित कोतपूजा र निशानापूजा गरिन्छ। हनुमानढोका दरबार, नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन आज पनि निरन्तर छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation