रुपन्देही – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंको समयमा पनि मनसुनी गतिविधि सक्रिय रहने जनाएको छ। विभागले जारी गरेको “दशैं विशेष मौसम बुलेटिन” अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको मध्य भू–भागतर्फ सर्दै गएको छ, जसको प्रभाव नेपालमा समेत पर्ने देखिएको छ।
यसका कारण दशैं अवधिभर विभिन्न प्रदेशमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार :
असोज १६ गते (दशमीको दिन) – कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराईका केही भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ। मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत पानी पर्ने अनुमान छ।
असोज १७ गते (एकादशी) – कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराई क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने प्रक्षेपण गरिएको छ।
असोज १८ गते (द्वादशी) – कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ। यी प्रदेशका केही भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
असोज १९ गते (त्रयोदशी) – कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक वर्षा हुने देखिन्छ। ती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा पनि हुनसक्ने अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाले विशेषगरी असोज १८ र १९ गते वर्षा तीव्र हुने भएकाले नदी, खोलानाला र भिरालो क्षेत्र वरपर सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।











