विजयादशमी : आज देशभर टीका–जमरा सहित हर्षोल्लासका साथ मनाइँदै

 

रुपन्देही  – नेपालीहरूको महान् चाड बडादशैंको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन दुर्गा भवानीलाई विधिपूर्वक विसर्जन गरी मान्यजनबाट प्रसादस्वरूप टीका, जमरा र फूलसहित आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको टीका लगाउने उत्तम साइत बिहान ११:५३ बजे रहेको छ। सो साइतदेखि दिनभरै टीका–जमरा ग्रहण गर्न सकिनेछ। टीका लगाउने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने नियम रहेको समितिले जनाएको छ।

यसअघि बिहान ९:२३ बजे देवी विसर्जन गर्ने साइत तोकिएको छ भने राज्य सञ्चालकहरूले ११:५३ मा टीका ग्रहण गर्नुपर्नेछ। समितिका अनुसार आज नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका–जमरा ग्रहण गर्न सक्नेछन्।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिका अनुसार विदेशमा पनि दशैंको साइत फरक–फरक समयमा तोकिएको छ। भारतमा अक्टोबर २ तारिख बिहान ११:४९, अमेरिकाको न्यूयोर्कमा अक्टोबर १ मा ११:२५, फ्र्याङ्कफर्ट–केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३, क्यालिफोर्नियामा ११:११, क्यानडाको टोरन्टोमा ११:५५, भ्यान्कुभरमा ११:३३ र अष्ट्रेलियाको सिड्नीमा अक्टोबर २ मा बिहान ११:४३ उत्तम साइत रहेको जनाइएको छ।

धार्मिक मान्यताअनुसार, यिनै दिनमा दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गर्नुभएको र भगवान् रामले रावणको वध गरी धर्म र न्यायको स्थापना गर्नुभएको विश्वास गरिन्छ। त्यसैले सत्यको असत्यमाथि विजयको प्रतीकस्वरूप यस दिनलाई विजया दशमी भनिन्छ।

टीका लगाउँदा पुरुष र महिलाका लागि छुट्टाछुट्टै मन्त्रोच्चारण गरिन्छ। वैदिक विधिपूर्वक टिका, जमरा र आशीर्वाद ग्रहण गर्दा आयु, आरोग्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation