कपिलवस्तु । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तु जिल्लाको वनकसवासामा शनिबार बिहान दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।
ना ८ ख ५७०३ नम्बरको बस बिहान करिब ५:३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परि २ जना गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने अन्य २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











