काठमाण्डौ – कोशी, मधेश र बागमती प्रदेशका विभिन्न स्थानमा हिजोदेखि लगातार ठूलो वर्षा भइरहेको छ। इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाण्डौ र ललितपुरमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुरमा मापन गरिएको छ, जहाँ ३५६ मिलिमिटर पानी परेको छ। लगातारको भारी वर्षाका कारण काठमाण्डौ उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशका नदी–खोलामा बाढी आएको छ।
बाढीका कारण दर्जनौं बस्तीहरू डुबानमा परेका छन्। सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिरहेका छन्। सरकारको पूर्वतयारी व्यवस्थित रहेकाले अहिलेसम्म मानवीय क्षति भएको रिपोर्ट प्राप्त भएको छैन।
महाशाखाका अनुसार आज पनि कोशी, मधेश र बागमती प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ। यद्यपि, बेलुकीतिर झरी केही मत्थर हुने अनुमान गरिएको छ।











