देशभर बाढीपहिरोबाट ४९ जनाको मृत्यु, इलाममा मात्रै ३७ जना

 

७ जना अझै बेपत्ता

१९ असोज, काठमाडौं ।
शुक्रबार र शनिबार लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोको कहर फैलिएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार देशभर अहिलेसम्म ४९ जनाले ज्यान गुमाएका छन् भने ७ जना बेपत्ता रहेका छन्।

सबैभन्दा बढी क्षति कोशी प्रदेशमा पुगेको छ। इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै पाँचथरमा ६, उदयपुरमा २ र खोटाङमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन्।
बेपत्तामध्ये इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ जना र काठमाडौंमा १ जना रहेको प्रहरीको विवरणमा उल्लेख छ।

यसैबीच, अविरल वर्षाका कारण पूर्वका धेरै सडकहरू क्षतिग्रस्त भएका छन्। ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा आवागमनमा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ। बीपी राजमार्ग अवरुद्ध भएर मङ्गलटारमा फसेका मिर्गौला फेल भएका बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

यस्तै, विराटनगरका विभिन्न बस्तीमा बाढी पस्दा १७६ परिवार विस्थापित भएका छन्। नदी तटबन्ध भत्किँदा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको स्थानीय निकायले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation