
काठमाडौं – नेपाली राजनीति फेरि एक नयाँ राजनीतिक शक्ति उदायो। पूर्वसांसद तथा पूर्वराजदूत नवराज सुवेदीको नेतृत्वमा ‘जनयुग पार्टी’ औपचारिक रूपमा गठन भएको छ। असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न भेलाबाट पार्टी गठन गरिएको हो।
वाम विचारधाराबाट प्रभावित व्यक्तिहरूको सहभागितामा बनेको यस नयाँ दलको संयोजकमा सुवेदी स्वयं रहँदा, सचिवको जिम्मेवारी भने अखिल छैठौंका पुर्ब अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले सम्हालेका छन्। पार्टीले ३२ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै वैकल्पिक राजनीतिक बाटो खोल्ने दाबी गरेको छ।
सुवेदी, जसले २०५१ र २०५६ सालमा राष्ट्रिय जनमोर्चाबाट प्यूठान क्षेत्र प्रतिनिधित्व गर्दै संसदमा पुगेका थिए, पछिल्लो समय नयाँ शक्ति पार्टीमार्फत सक्रिय राजनीतिक जीवनमा रहेका थिए। उनले साउदी अरबका लागि नेपाली राजदूतको जिम्मेवारी पनि सम्हालेका थिए।
नवगठित जनयुग पार्टीले आफ्नो पहिलो वक्तव्यमार्फत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालाई नागरिकको आधारभूत अधिकारका रूपमा स्थापित गर्न जोड दिएको छ। सुशासन, पारदर्शिता र स्रोतसाधनको प्रभावकारी व्यवस्थापनमार्फत विकासको नयाँ संस्कृति ल्याउने प्रतिबद्धता पार्टीले जनाएको छ।
वक्तव्यमा भनिएको छ – “देशलाई आर्थिक रूपमा सबल बनाउन राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक छ। जलविद्युत, पर्यटन, कृषि, जैविक खेती, सहकारी, प्रशोधन उद्योग र प्रविधि–मैत्री उत्पादन प्रणालीलाई प्राथमिकतामा राख्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरिन्छ।”
युवाशक्ति देशको मेरुदण्ड भएको उल्लेख गर्दै पार्टीले विदेश पलायन रोकी देशमै रोजगारी र स्वरोजगारका अवसर विस्तार गर्न सरकारसँग माग गरेको छ। साथै, विगतका काण्ड, भ्रष्टाचार र अनियमिततामाथि निष्पक्ष छानबिन गरी आयस्रोतभन्दा बढी सम्पत्ति जफत गर्ने र दोषीमाथि कठोर कारबाही गर्ने अडान पार्टीले सार्वजनिक गरेको छ।
नवीन सोच र व्यवहारिक नीति–दृष्टिकोणका साथ अघि बढ्ने दाबी गर्दै जनयुग पार्टीले नेपाली राजनीतिमा “आर्थिक राष्ट्रवाद र सुशासनमुखी नयाँ सुरुवात” गर्ने घोषणा गरेको छ।