
सुर्खेत । नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियानलाई तीव्रता दिएको छ । निर्देशनालयका निर्देशक डा. कमल लामिछानेका अनुसार हालसम्म प्रदेशका ३७ पालिकामा फोरजी र फाइबर नेट सेवा विस्तार भइसकेको छ ।
उनका अनुसार ग्रामीण क्षेत्रमा नेटवर्क सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने लक्ष्यसहित थप ५० पालिकामा सेवा विस्तारका लागि सर्भे कार्य जारी छ । “कोहलपुर–सुर्खेत १३२ केभीको विद्युत् प्रसारण लाइन सुर्खेतसम्म जोडिनेबित्तिकै फाइबर नेट विस्तार गर्न सहज हुनेछ,” डा. लामिछानेले बताए । उनले सुर्खेतको चिङ्गाड गाउँपालिकासहितका क्षेत्रमा फाइबर नेट सेवा जोड्ने तयारी भइरहेको जानकारी दिए ।
सञ्चार सेवालाई प्राथमिकतामा राख्दै दैलेख, कालीकोट र जुम्ला सिञ्जासम्म फाइबर नेट विस्तारको काम भइरहेको पनि उनले बताए । यसका लागि प्राविधिक टोलीहरू घरदैलोमै पुगेर कार्यरत छन् ।
केन्द्रीय योजनाअन्तर्गत अपर डोल्पा, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत लेखफर्सालगायत १० स्थानमा नयाँ बिटीएस (BTS) टावर सञ्चालनमा ल्याइएको निर्देशनालयले जनाएको छ ।
डा. लामिछानेका अनुसार सोलार प्रणाली र विद्युतीकरण सुदृढ भएपछि सञ्चार सेवा अझ प्रभावकारी बनाउन सकिनेछ । यसका लागि प्रदेशभर ३० साइटका लागि नेपाल विद्युत् प्राधिकरणलाई अग्रिम रकम उपलब्ध गराइसकेको उनले जानकारी दिए ।
हालसम्म दुर्गम बस्तीका १६ स्थानीय तहका बजार क्षेत्रमा टेलिकम सेवा पुगेको र ‘डिजिटल कर्णाली कन्क्लेभ’ को अवधारणाअनुसार कार्य अगाडि बढाइएको निर्देशनालयले जनाएको छ ।
डोल्पाको मुड्केचुलामा बिटीएस सेवा सञ्चालन हुँदैछ भने सुर्खेत आसपासका क्षेत्रमा फोरजी सञ्जाल विस्तार भइरहेको छ । हुम्लाको हिल्सामा पनि यही वर्षभित्र फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय, सुर्खेतले जनाएको छ ।