
काठमाडौँ । दर्ता नै नभएका पशु औषधिहरू अवैध रूपमा आयात गरेको आरोपमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ ।
सीआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीका अनुसार भन्सार शुल्क लाग्नेगरी आयात गर्न सिफारिसपत्र कीर्ते गरेर पशु औषधि भित्र्याएको प्रमाण फेला परेपछि बडाललाई बिहीबार नियन्त्रणमा लिइएको हो ।
यसअघि सोही प्रकरणमा बडालकी श्रीमती सुना सुवेदीलाई पनि सीआइबीले चार दिनअघि नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा कम्पनीले दर्ता प्रक्रिया नपु¥याई विभिन्न औषधि नेपाल भित्र्याएको र बिक्री वितरणमा संलग्न रहेको प्रारम्भिक तथ्य फेला परेको प्रहरीले जनाएको छ ।
सीआइबीले बडालविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको र पशु औषधि व्यवस्थापनसम्बन्धी ऐनअनुसार थप अनुसन्धान जारी रहेको जनाएको छ ।