देउवा, ओली र प्रचण्डसहितका शीर्ष नेताको सम्पत्तिमाथि छानबिन सुरु

 

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतामाथि अनुसन्धान सुरु गरेको छ । विभागले उनीहरूका बैंक खाता, कम्पनी, लगानी र जग्गाजमिनसम्बन्धी विवरण संकलनका लागि नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार र भूमि व्यवस्थापन विभागलाई पत्राचार गरेको हो ।

सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले देउवाकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा, नेता दीपक खड्का र देउवाका छोरा जयवीरसिंहसमेतलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

गत भदौ २३ र २४ गते ‘जेन जेड’ प्रदर्शनकारीहरूले देउवा, दाहाल र खड्काको घरमा आगजनी गर्दा फेला परेका जलेका नोट र खरानीको फरेन्सिक रिपोर्टसमेत विभागले माग गरेको जनाएको छ । सो घटनापछि विभागका टोलीले सम्बन्धित घरमा पुगेर मुचुल्का तयार पारेका थिए ।

तीन पुस्तासम्मका आफन्तहरूको सम्पत्ति र कारोवारसमेत जाँचबुझ गरिने विभागले जनाएको छ । विभिन्न निकायबाट विवरण संकलनपछि दोस्रो चरणमा बयान प्रक्रिया सुरु हुने तयारी गरिएको छ ।

लामो समयदेखि सत्तासँग जोडिएका यी नेतामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी औपचारिक अनुसन्धान सुरु भएको यो पहिलोपटक हो । जनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले यो प्रक्रिया अघि बढाएको हो ।

कान्तिपुर बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation