नेपाली सेनाको दाबी : आवश्यकताको सिद्धान्तअनुसार पहल लिएको हो

 

काठमाडौँ । नेपाली सेनाले हालैको जेनजी आन्दोलनका क्रममा अपनाएको कदम ‘आवश्यकताको सिद्धान्त’अनुसार भएको स्पष्ट गरेको छ।
शुक्रबार (असोज ३१ गते) युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजङ्ग थापाले आयोजित पत्रकार सम्मेलनमा सेनाले आफ्नो भूमिका कानूनी, संवैधानिक र राष्ट्रिय सुरक्षाको दायित्वअनुसार भएको बताए।

थापाका अनुसार आन्दोलनको संकेत केही समयअघि नै देखिए पनि त्यसको विकासक्रम अचानक रूपमा तीव्र बनेको थियो। उनले भने,

> “जेनजी तरङ्ग केही अघिबाट देखिएको थियो, तर क्रमिक रूपमा नभई एक्कासी तीव्र रूप लिँदै प्रकट भयो। सेनाले त्यसबेला आवश्यकताको सिद्धान्त मनन गर्दै आवश्यक पहल गरेको हो।”

 

उनले सेनाको मुख्य उद्देश्य जनधनको सुरक्षा र राष्ट्रको रक्षा रहेको भन्दै अन्य सुरक्षानिकायहरूसँग काँधमा काँध मिलाएर काम भइरहेको पनि जानकारी दिए।

६२ स्थानमा सेनाको सुरक्षा तैनाथी

सेनाका अनुसार देशभरका ६२ महत्त्वपूर्ण संरचना र संस्थागत ठाउँहरूमा हाल सेना परिचालन गरिएको छ।
यीमध्ये ५० स्थान कारागार, तीन एयरपोर्ट, एक नेपाल आयल निगम, तीन अदालत, एक जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, साथै दूताबास र कन्सुलेट क्षेत्रहरू रहेका छन्।
काठमाडौँ उपत्यकाभित्र पाँच र बाहिर ५७ स्थानमा गरी एक हजार ६२८ सैनिक तैनाथ गरिएको सेनाले जनाएको छ।

७६ जनाको मृत्यु, २२ प्रदर्शनकारी

सेनाले प्रस्तुत गरेको विवरणअनुसार आन्दोलनका क्रममा मृत्यु हुनेहरूको संख्या ७६ पुगेको छ।
तीमध्ये २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी, र बाँकी ४१ अन्य व्यक्ति रहेको बताइएको छ।

व्यापक क्षति र नियन्त्रण

सेनाका अनुसार आन्दोलन ४८४ स्थानमा फैलिएको थियो।
यस अवधिमा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय, र ३०७ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो।

त्यस्तै, आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदी फरार भएका मध्ये हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ।
फरार हुँदा हराएका ९७८ थान हतियारमध्ये ५८६ थान फिर्ता गराइएको पनि सेनाले जनाएको छ।

थापाले अन्त्यमा भने,

“सेनाको कदम कुनै राजनीतिक उद्देश्यका लागि होइन, राष्ट्रको स्थायित्व र नागरिक सुरक्षाका लागि हो।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation