
रुपन्देही । नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोट प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेलमा विजय हासिल गर्दै च्याम्पियन बनेको हो।
विशाल जितसँगै ऐतिहासिक उपाधि
नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो।
सामोआका सिन् सोलियाले सर्वाधिक ४० रन बनाए भने अन्य ब्याटरहरू नेपाली बलरको दबाबमा टिक्न सकेनन्।
नेपालका लागि ललित राजवंशीले ३ विकेट, करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए।
आसिफ र दीपेन्द्रको अर्धशतक
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनाएको थियो।
आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए।
त्यस्तै, लोकेश बमले अन्त्यतिर ११ बलमा ३९ रनको विस्फोटक इनिङ खेले। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन जोडे।
सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले समान १–१ विकेट लिए।
११ वर्षपछि आईसीसी उपाधि
नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा उपाधि जितेको हो।
यसअघि नेपालले सन् २०१४ मा आईसीसी डिभिजन फोरको उपाधि जितेको थियो।
सन् २०२३ मा भएको विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको थियो।
समूहदेखि सुपर सिक्ससम्म अपराजित यात्रा
समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो।
कुवेत बाहिरिएपछि नेपालले जापानविरुद्धको जितका २ अंक लिएर सुपर सिक्समा प्रवेश गरेको थियो।
सुपर सिक्समा नेपालले
यूएईलाई १ रनले
कतारलाई ५ रनले
र अन्तिम खेलमा ओमानलाई ३८ रनले हराउँदै फाइनलमा पुग्नेबित्तिकै विश्वकपका लागि छनोट पक्का गरेको थियो।
विश्वकप यात्रा पक्का
यस छनोटमार्फत नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपका लागि टिकट कटाएका छन्।
यो ऐतिहासिक जितसँगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
कप्तान रोहित पौडेलको नेतृत्वमा टोलीले एकजुटता, अनुशासन र उच्च आत्मविश्वासका साथ खेल प्रस्तुत गर्दै उपाधि जितेको हो।