
रुपन्देही , कात्तिक १ ।
उज्यालो र सौहार्दताको प्रतीक मानिने दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले यसै दिनदेखि तिहार पर्वको शुभारम्भ भएको हो।
त्रयोदशी तिथि परेकाले आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान मनाइँदैछ। परिवारका सदस्य संख्याअनुसार दक्षिण फर्काएर दीपदान गर्ने परम्परा छ। धर्मशास्त्रविद्हरूका अनुसार यस दिन दीपदान गर्नाले यमलोकको यातनाबाट मुक्ति मिल्ने विश्वास छ।
तिहारका आगामी दिनहरू यस प्रकार छन् :
कात्तिक २ गते (आइतबार) – बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा
– बिहान अपामार्गसहित स्नान गरी बत्ती बालेर नदीमा बगाउने ‘नरक स्नान’को प्रचलन पनि यसै दिन छ।
कात्तिक ३ गते (सोमबार) – दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी लाग्ने भएकाले लक्ष्मीपूजा पनि यही दिन गरिनेछ।
कात्तिक ५ गते (बुधबार) – गाई, गोरु, गोवद्र्धन पूजा, साथै आत्म पूजा (म्ह पूजा) र नेपाल संवत् ११४६ सुरु हुनेछ।
कात्तिक ६ गते (बिहीबार) – भाइटीका
– यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको छ। दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर टीका लगाउने शास्त्रीय विधि हो।
उज्यालो र मिलनको पर्व
तिहारलाई उज्यालो र स्नेहको पर्वका रूपमा लिइन्छ। यस अवसरमा घरघरमा दीपावली गरी लक्ष्मीको पूजा गरिन्छ भने गाउँदेखि शहरसम्म देउसी–भैलो, कौडा, लंगुरबुर्जा, तासजस्ता परम्परागत खेलहरू खेल्ने चलन छ।
राजधानीलगायत देशभरका सहरहरू अहिले नै झिलिमिली बत्तीले झलमल्ल भएका छन्। बडादसैंमा सुनसान देखिने काठमाडौं उपत्यका तिहारमा भने झनै रमाइलो र रौनकले भरिएको देखिन्छ।
नेपाल प्रहरीले नागरिकलाई पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ।
उज्यालो, सौहार्द र प्रेमको सन्देश बोकेको तिहारले सबै नेपालीबीच एकता र आपसी सद्भाव अझ प्रगाढ बनाओस् भन्ने शुभकामना सहित —
सबैलाई मंगलमय तिहारको हार्दिक शुभकामना