रुपन्देही । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार धार्मिक उल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँचदिने यमपञ्चक पर्वको पहिलो दिन काग तिहार मनाउने परम्परा रहँदै आएको छ।
वैदिक सनातन हिन्दू परम्परा अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि “काग करायो भने पाहुना आउँछ” भन्ने जनविश्वास रहिआएको छ। आजको दिन बिहानै कागलाई दही भात र विभिन्न परिकार अर्पण गरी सम्मानपूर्वक पूजा गरिन्छ।
‘काकेन दधि भक्षितम्’ भन्ने धार्मिक मन्त्रोच्चारणसहित कागलाई दही–भात अर्पण गर्दा उसले यमराज समक्ष राम्रो सन्देश पुर्याउँछ भन्ने विश्वास छ। त्यसैले आजको दिन कागलाई प्रसन्न पार्दै मृत्यु र संकटबाट मुक्त रहोस् भनी प्रार्थना गरिन्छ।
यो पर्वले धार्मिक आस्थासँगै मानिस र जनावरबीचको सम्बन्ध, पक्षीप्रतिको कृतज्ञता, तथा प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ।
धर्मशास्त्र अनुसार यमराजले पृथ्वीमा रहेका सबै प्राणीजगतको जन्म–मृत्युको विवरण राख्ने गर्छन् र सो विवरण ल्याउने–लैजाने कार्य कागले गर्ने विश्वास आजसम्म रहँदै आएको छ। आकाश मार्गबाट छिटो सन्देश पठाउने क्षमताका कारण कागलाई यमराजको दूत मानिएको जनश्रुति छ।
यसै दिन काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा–आराधना र दर्शनार्थ भक्तजनको भीड लागेको छ।











