आज यमपञ्चकको दोस्रो दिन, कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै

 

रुपन्देही , कात्तिक ३।
आज यमपञ्चकको दोस्रो दिन, नेपालीहरू देशभर श्रद्धा र उल्लासका साथ कुकुर तिहार र नरक चतुर्दशी मनाइरहेका छन्।

वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपाल मानिन्छ। आजको दिन कुकुरलाई टीका, माला र मीठा परिकार खुवाएर पूजा गर्ने चलन छ। धार्मिक विश्वास अनुसार आज कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भनिन्छ।

पुराण अनुसार यमलोकमा यमराजको ढोका रक्षण गर्ने कुकुरलाई तिहारमा सम्मान गर्दा मृत्युपश्चात् आत्माले स्वर्गमार्ग प्राप्त गर्ने विश्वास गरिएको छ। द्वापर युगमा धर्मराज युधिष्ठिरलाई स्वर्गारोहणको क्रममा साथ दिने कुकुरको कथा पनि यसै दिनसँग जोडिएको छ, जसले कुकुरको निष्ठा र पवित्रता प्रतीक बनाउँछ।

ऋग्वेदमा ‘समरा’ नामकी कुकुर आमाको कथा उल्लेख छ, जसले इन्द्रलाई हराएको वस्तु फेला पार्न सहयोग गरेकी थिइन्। त्यसैले वैदिक सनातन परम्परामा कुकुरलाई अभिभावक, सुरक्षाकर्मी र यमराजको सन्देशवाहकको रूपमा सम्मान गरिन्छ।

कुकुर तिहारलाई निष्ठा, कृतज्ञता र जीवन सुरक्षा प्रतीकका रूपमा मनाइन्छ। अपराध पत्ता लगाउने, विपत्ति पहिचान गर्ने र घरको पहरेदार जनावरका रूपमा कुकुरप्रतिको श्रद्धा यो पर्वमा व्यक्त गरिन्छ।

 

नरक चतुर्दशी पनि आजै

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन बिहानै तैलाभ्याङ्ग स्नान गर्ने धार्मिक विधि पुराणमा उल्लेख छ। तिल र चन्दन मिसाएर स्नान गर्दा पाप नाश हुने विश्वास गरिएको छ।

शास्त्रीय मान्यता अनुसार तिलमा लक्ष्मी र जलमा गङ्गाको वास हुने भएकाले तिलयुक्त स्नानले आत्मा शुद्ध र पवित्र हुने बताइन्छ। स्नान अघि अपमार्ग वनस्पति जलमा डुबाएर “मेरा सबै पाप हटून्” भन्ने भावना सहित मन्त्र पाठ गर्ने चलन छ।

स्नानपछि दक्षिण दिशातर्फ फर्किएर यमराजका १४ नामहरू उच्चारण गर्दै तिलयुक्त जलले तर्पण गर्ने धार्मिक परम्परा छ। यसरी तर्पण गर्दा वर्षौंदेखिका पाप नष्ट हुने विश्वास गरिन्छ।

यस दिन मासको पातको साग खाने, दीपदान गर्ने र आलसको बोट बालेर आगो ताप्ने परम्परा छ, जसले पाप नाश र आत्मशुद्धिको प्रतीक मानिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation