रुपन्देही : कात्तिक ६ — नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज देशभर भाइटीका उत्साहपूर्वक मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र स्नेहपूर्वक पञ्चरंगी टीका लगाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै भाइटीका पर्व मनाइरहेका छन्।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार, यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार साइत उत्तम भए पनि दिनभर टीका लगाउन कुनै बाधा छैन। तर, धार्मिक कार्य र राज्य स्तरका कार्यक्रममा साइतमै टीका लगाउने परम्परा रहेको समितिले जनाएको छ।
यस वर्ष तिथि वृद्धि भएकाले भाइटीका तिहारको छैटौं दिन परेको बताइन्छ। पाँच दिनसम्म मनाइने तिहारलाई यमपञ्चक पनि भनिन्छ। भाइटीकाको दिनलाई यमद्वितीया नामले पनि चिनिन्छ।
शास्त्र अनुसार टीका लगाउँदा दिदीबहिनी पूर्वतर्फ, र दाजुभाइ पश्चिमतर्फ फर्किनुपर्छ। यसो गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने भएकाले शुभ मानिन्छ।
तिहारमा प्रयोग हुने टीका सम्बन्धमा समितिका सदस्य तथा धर्मशास्त्रविद् देवमणि भट्टराई भन्छन् — “तिहारमा टीका पाँच रंगको हुनुपर्छ — रातो, सेतो, पहेंलो, हरियो र निलो। सप्तरंगी टीका भन्ने चलन भए पनि शास्त्रीय आधार भने पञ्चरंगीमै छ।”
टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी लगायतका परिकार दिएर सत्कार गर्छन्। बदला स्वरूप दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा, दक्षिणा र उपहार प्रदान गर्छन्।
यस दिन बिहान लक्ष्मीपूजाका बेला स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी, अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपति र नवग्रहको आराधना गर्ने परम्परा छ।
दिदीबहिनी र दाजुभाइबीचको प्रेम, आस्था र कर्तव्यबोधलाई अझ प्रगाढ बनाउने यो पर्वले पारिवारिक एकता र सामाजिक सद्भाव सुदृढ गर्ने विश्वास गरिन्छ।











