काठमाण्डौंदेखि मधेससम्म छठको माहोल, सूर्यदेवको स्तुति सुरू

 

काठमाडौं, ९ कात्तिक । सूर्य उपासना र शुद्ध जीवन संस्कारसँग जोडिएको चारदिने छठ पर्व आजदेखि धार्मिक उत्साहसहित सुरु भएको छ। ‘नहाय–खाय’ नामक पहिलो दिनमा बर्तालुहरू बिहानै नदी वा तलाउमा स्नान गरी एकदमै चोखो भोजन ग्रहण गर्दै ब्रतारम्भ गरेका हुन्।

कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने यो पर्व सप्तमीसम्म निरन्तर चल्छ। राजधानी काठमाडौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लासम्म छठको रौनक स्पष्ट देखिन थालेको छ।

धार्मिक विधि र महत्व

– पञ्चमीका दिन निर्जल उपवास बसिन्छ। बेलुकी चन्द्रमालाई अर्पण गरिएको खीर ग्रहण गरेर एकछाक भोजन लिने परम्परा छ, जसलाई ‘खरना’ भनिन्छ।
– षष्ठीका दिन फलफूल, ठेकुवा, रोटी, नरिवल, उखु लगायत प्रसाद बाँसको डालेमा साजसज्जासहित राखिन्छ। साँझपख गीत–भजन गाउँदै जलाशय किनारमा पुगेर अस्ताउँदै गएका सूर्यलाई अघ्र्य अर्पण गरिन्छ।
त्यस रात बर्तालुहरू घाटमै बसेर जाग्राम गर्छन्।
सप्तमीको बिहान उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जल चढाएर विशेष पूजा गरिन्छ, जसलाई ‘भिन्सरघाट पूजा’ नामले चिनिन्छ।

छठ भर बर्तालुहरूले माछामासु, लसुन, प्याज आदि तामसी तथा राजसी खाद्य पदार्थ त्याग्ने कठोर नियम पालना गर्छन्। मनोकामना पूरा हुने विश्वासमा विशेषगरी महिलाले अत्यन्त कठिन व्रत बस्ने चलन छ।

तराईदेखि पहाडसम्म विस्तार

पहिले मधेस–तराईमा मात्र व्यापक छठ अब काठमाडौँसहित पहाडी जिल्लामा पनि समान उत्साहका साथ मनाइन्छ। विसं २०४६ पछि राज्यले छठ पर्वमा सार्वजनिक विदा प्रदान गर्न थालेसँगै यसको सांस्कृतिक प्रभाव झनै बढेको छ।

गुह्येश्वरी छठ पूजा समितिका अनुसार यस वर्ष कात्तिक १० गते बेलुकी अस्ताउँदो तथा कात्तिक ११ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको छ। छठी माईको कृपा प्राप्तिको विश्वाससहित बर्तालुहरू नदी किनारमै रात कटाउने तयारीमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation