बुटवल — लालटिन बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले आफ्ना संस्थापक सदस्य टान बहादुर केसीको स्मृतिमा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम सोमबार दिवंगत केसीको बुटवल–१९ नहरपुर मिलनटोलस्थित निवासमै सम्पन्न भयो।
कार्यक्रममा सहभागी भएका सञ्चालक र कर्मचारीहरूले स्व. केसीप्रति मौन धारण गर्दै उहाँले सुरु गरेको सहकारी अभियानलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
सहकारीका अध्यक्ष गंगालाल सापकोटाले केसीको निधनले संस्थामा मात्र होइन, स्थानीय सहकारी आन्दोलनमै ठूलो रिक्तता सिर्जना भएको बताए। २०७२ सालमा सहकारी स्थापित हुँदा देखिनै स्व. केसी सक्रिय सहभागिताका साथ नेतृत्वमा रहँदै आएका थिए। सापकोटाका अनुसार सहकारीको दिगोपनाका लागि उहाँको सोच र कार्यशैली अनुकरणीय हुनेछ।
सहकारीले स्व. केसीलाई स्मरण गर्दै केन्द्रीय कार्यालयसहित शाखा कार्यालयहरूमा शोक सन्देश टाँस गर्ने निर्णयसमेत गरेको छ।
५६ वर्षका केसी तिहारको भाइटीकाकै दिन रमाइलो कार्यक्रममा सहभागी भइरहेका बेला अचानक हृदयघात भई निधन भएका थिए। राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्षका रूपमा समेत परिचित केसीलाई जिम्मेवार समाजसेवी, सहज र मित्रवत् व्यक्तित्वको रूपमा परिचितहरूले सम्झिरहेका छन्।











