बुटवल — नवलपरासीको पर्सावलमा जनयुद्धकालीन अभियानका क्रममा ज्यान गुमाएका नौ जना शहीदहरूको गौरवशाली योगदानलाई स्मरण गर्दै नेकपा (माओवादी केन्द्र) ले बुटवलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। बुटवल उपमहानगर समितिद्वारा शहीद स्मृति भवनमा सोमबार सम्पन्न कार्यक्रममा शहीद परिवार, स्थानीय नागरिक, पार्टीका अग्रणी नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शहीदहरूको आत्माको चीरशान्तिको कामना गर्दै मौनधारण, स्मृतिपत्र वाचन तथा पुष्पांजलि अर्पण गरिएको थियो।
जनयुद्धको उत्कर्ष चरण रहेको २०५९ साल कार्तिक ९ गते तत्कालीन शाही सेनाले पर्सावलमा गरेको सैन्य घेराबन्दी र कारबाहीका क्रममा
देबिराम भुसाल ,समर, डी.बी. थापा, अनिरुद्ध यादव, लिलावती भण्डारी, बुद्धि बिक, पदमबहादुर थापा, बालकृष्ण काउछा र प्रकाश चौधरी वीरगतिको वरण गरेका थिए।
ती शहीदहरूले समाज रूपान्तरण, वर्गीय मुक्ति र जनअधिकारका पक्षमा लड्दा ज्यानसमेत अर्पण गरेको इतिहासलाई पुनः स्मरण गरिएको हो।
वक्ताहरूका अनुसार उनीहरूको बलिदानले राजनीतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनताको पहिचान सुनिश्चित गर्न गहिरो भूमिका खेलेको छ।
कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, केन्द्रीय नेताहरू बामदेव क्षेत्री, गोविन्द केसी, रामबहादुर परियार, जिल्ला संयोजक निर्मल जिसी तथा बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसालले मन्तव्य राख्दै,
शहीदहरूको सपना अधुरो नरहने,
उनले देखाएको मार्गबाट जनताको समृद्धि र समानतामूलक समाज निर्माणका ध्येयलाई अघि बढाइरहने विश्वास व्यक्त गरेका थिए। उनीहरूले वर्तमान राजनीतिक चुनौतीका बीच पनि शहीदले चुनेकाे बाटो नै नयाँ पुस्ताकाे मार्गदर्शन बन्नुपर्नेमा जोड दिए।
वक्ताहरूले शहीद देबिराम भुसालको साहसिकता, जनताप्रतिको निष्ठा र नेतृत्वगुणलाई विशेषरूपमा उल्लेख गर्दै, रूपान्तरणको राजनीति निर्माणमा उनको योगदान अमिट रहेको टिप्पणी गरे।
बुटवल उपमहानगर समितिले पर्सावलका शहीदहरूको स्मरणमा हरेक वर्ष श्रद्धाञ्जली कार्यक्रम, स्मृति संरक्षण, राजनीतिक तथा जनमुखी अभियान निरन्तर सञ्चालन गर्दै आएको नेकपा माओबादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले बताए। शहीदहरूको नाममा सञ्चालित समाजिक जिम्मेवारीका कार्यक्रममार्फत उनको योगदानलाई आगामी पुस्तासम्म पुर्याइने प्रतिबद्धता व्यक्त गरिएको नगर अध्यक्ष भुसालले बताएका थिय।
कार्यक्रमका सहभागीहरूका अनुसार, शहीदहरूको वीरत्व केवल इतिहासको पानामा सीमित नहुने, देश र समाज रूपान्तरणको यात्रामा निरन्तर प्रेरणा र उर्जा बनेर रहनेमा उनीहरू विश्वस्त छन्।












