शंकर प्रसाद पोख्रेल
जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिती जालन्धरको आयोजनामा चार दिनसम्म निरन्तर खेलिएको जनवादी भैलो यस वर्ष विगतका वर्षहरूभन्दा उत्कृष्ट र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत गीत–नृत्य र समुदायमा जागरणसहित मनोरञ्जनका कार्यक्रमहरू समावेश गरिएको थियो। सहभागीहरूले भैलोमा सक्रिय रूपमा भाग लिएर स्थानीय नेपाली समुदायमा उत्साह र एकता झल्काउने काम गरेका थिए।
भैलो कार्यक्रमले नेपाली सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको समाजका नेता कुल बहादुर बगालेले बताउनुभयो। उहाँका अनुसार यस्तो कार्यक्रमले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो मातृभूमि र संस्कृतिसँग जोडिराख्न पनि मद्दत गरेको छ।
नेता बगालेले आगामी वर्षहरूमा अझ भव्य र प्रभावकारी कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस भैलोले स्थानीय समुदायमा सांस्कृतिक एकता र सामाजिक मेलमिलापको सन्देश फैलाउने महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।











