रुपन्देही । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल तथा जेनजी प्रतिनिधिहरुसँग त्रिपक्षीय छलफल गर्ने भएकी छन्। आज बुधबार कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलका नेता तथा जेनजी अगुवालाई पहिलोपटक एउटै बैठकमा राखेर निर्वाचन तयारीबारे गहन छलफल गर्न लागेकी हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न ४ बजे बस्ने बैठकमा आगामी निर्वाचनका विषयमा सकारात्मक वातावरण निर्माण तथा आवश्यक तयारीका मुद्दा केन्द्रित हुने जनाइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचन सफल बनाउन सरकार, राजनीतिक दल र जेनजीहरूको सहभागितामार्फत चरणबद्ध वार्ता अघि बढाइएको छ। उनका अनुसार विभिन्न सम्बद्ध पक्षहरूलाई समेट्दै आवश्यक समन्वयका कार्य पनि निरन्तर जारी छन्।
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच सर्वदलीय छलफल भएको थियो। प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको सो बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा सबै पक्ष सहमत रहेका थिए। लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल निर्माणमा सहयोग पुगेको सम्बद्ध पक्षहरूको भनाइ छ।
मन्त्री खरेलका अनुसार सरकारले निर्वाचन तयारीअन्तर्गत सबै आवश्यक काम अघि बढाइरहेको छ। साथै निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी वातावरण निर्माणमा बलियो प्रतिबद्धता व्यक्त गरिएको छ।











