रुपन्देही । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् भने चार जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे तीव्रगतिका कारण अनियन्त्रित भई सडक छेउको बाँझिको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो। उक्त गाडीमा सात जना सवार थिए।
दुर्घटनामा सैनामैना–८ बसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। आचार्यको कात्तिक १२ गते मध्यरात पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। थापा र बिकको पनि कपिलवस्तुस्थित पिपरा अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेमध्ये गाडी चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्। सबैको टाउकोमा गम्भीर चोट लागेका कारण उनीहरुलाई मध्यरातमै थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल र मर सिटी अस्पतालमा रेफर गरिएको हो।
दुर्घटनाको कारण अत्यधिक गति नै भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेर रुद्रपुर इलाका प्रहरी कार्यालयको टोलीले उद्धार गरी घाइतेहरुलाई अस्पताल पुर्याएको तथा गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।











