पाल्पा । रैनादेवीछहरा गाउँपालिका–४ पिपलभञ्ज्याङ नजिक इभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
लु प ०००१ ज ००९१ नम्बरको भ्यान बुटवलबाट छहरा–मेहलढापतर्फ जाँदै गर्दा बिहान करिब १०:३० बजे अनियन्त्रित भई सडकबाट झण्डै १ हजार ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
स्रोतका अनुसार भ्यान छहरा बजारबाट बिहान करिब १० बजे प्रस्थान गरेको थियो। दुर्घटना भएलगत्तै जानकारी नआएर स्थानीयले करिब साढे १ बजे मात्र घटनास्थल देखेपछि प्रहरीलाई सूचित गरेको बताइएको छ।
दुर्घटनामा रैनादेवीछहरा–४ का कमल रायमाझी, रैनादेवीछहरा–१ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी र मेहलढाप–४ का रामबहादुर गाहाको मृत्यु भएको पुष्टि भएको छ। तिनै जनालाई उद्धारपछि अस्पताल लगिएको भए पनि बचाउन नसकिएको प्रहरी सूचना अधिकारी कमल प्रधानले बताए।
उच्च पहाडी भूभाग भएको सो क्षेत्रमा यसअघि पनि यस्तै दुर्घटना भइरहेको स्थानीयले बताएका छन्। दुर्घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ।











