बालुवाटारमा त्रिपक्षीय छलफल : चुनावमा अडिग सरकार, आ-आफ्नै अडानमा दलहरू

 

काठमाडौँ ।
आज बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच भएको त्रिपक्षीय छलफलमा आसन्न निर्वाचन, सुशासन र जेनजी आन्दोलनका विषयमा विस्तृत बहस भयो।

प्रधानमन्त्री सुशीला कार्कीले बैठकमा भनिन्,

“कुनै पनि हालतमा चुनाव गराएर मात्र यो सरकार छाड्छु।”

 

उनले तोकिएकै समयमा चुनाव सम्पन्न गर्ने तयारी दोहोर्याइन् भने गृह मन्त्रालयले पनि लुटिएका हतियार फिर्ता हुँदै गरेको र चुनाव सुरक्षाको पूर्ण तयारी भइरहेको जानकारी दियो।

तर दलहरूका धारणा फरक देखिए।
एमालेले संसद् पुनःस्थापनाको माग गर्दै सरकारलाई असंवैधानिक ठहर गर्‍यो।
कांग्रेसका नेता गगन थापाले “समय थोरै भए पनि चुनाव नै विकल्प हो” भन्दै चुनावको पक्षमा समर्थन जनाए।
मधेसवादी दलहरूले पनि निर्वाचनमै समाधान देखे।
त्यस्तै, राप्रपाले भने संघीयता खारेज र राजाको भूमिकाको पुनःआवश्यकता औंल्यायो।

जेनजी प्रतिनिधिहरूले राजनीतिक दलहरूलाई संसद् पुनःस्थापनामा अडिन नहुने र चुनावमै आफ्नो सहमति जनाउन आग्रह गरे।
उनीहरूले आन्दोलनको मागलाई व्यवहारिक रूपमा सम्बोधन गर्न सरकार र दलहरू दुवैलाई आह्वान गरे।

छलफलमा केही विषयमा मतभेद कायम रहँदै पनि, चुनाव गर्ने कि नगर्ने भन्ने प्रश्नमा आजको बालुवाटार बैठकले देशको राजनीतिक दिशातर्फ पुनः सबैको नजर तानेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation