राष्ट्रिय जनमोर्चाले सम्झियो आफ्नोयोद्धा: केसि र सिंहद्वारा टान बहादुर केसीलाई श्रद्धाञ्जली

 

शंकर प्रसाद पोखरेल, रुपन्देही 

राष्ट्रिय जनमोर्चा रुपन्देहीले आफ्ना दिवंगत जिल्ला अध्यक्ष स्वर्गीय टान बहादुर केसीप्रति बुटवलमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरेको छ। हृदयघातका कारण भाइटिकाको दिन, २०८२ कार्तिक ६ गते उहाँको असामयिक निधन भएपछि पार्टी, शुभेच्छुक र स्थानीय समाज शोकमग्न बनेका छन्।

कार्यक्रममा पार्टीका शीर्ष नेता, कार्यकर्ता, स्थानीय अगुवाहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। श्रद्धाञ्जली कार्यक्रम राष्ट्रिय जनमोर्चा रुपन्देहीको संयोजनमा सम्पन्न भएको हो।

नेताहरूका श्रद्धाञ्जली मन्तव्यहरू

कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री विक्रम सिंह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी, केन्द्रीय सल्लाहकार बद्रे आलम, गंगा सापकोटा ,राजमो नेतृ इन्दिरा ज्ञवाली, तथा अन्य वरिष्ठ नेताहरूले स्व. टान बहादुर केसीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उहाँको जीवन, सोच र योगदानको स्मरण गरेका थिए।

महामन्त्री सिंहले टान बहादुर केसीलाई “एक सच्चा क्रान्तिकारी, इमानदार र समाजका अगुवा व्यक्तित्व”का रूपमा स्मरण गर्दै भने,

 “केसीजस्ता इमानदार, निष्ठावान् र जनताको पक्षमा सधैं उभिने योद्धा बिरलै पाइन्छन्। उहाँको निधनले जनमोर्चा परिवार र वाम आन्दोलन दुवैलाई ठूलो क्षति पुगेको छ।”

त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले स्व. टान बहादुर केसीलाई “राष्ट्रवादी, समाजसेवी र लोकप्रिय जननेता”को रूपमा वर्णन गर्दै भने,

“उहाँले सधैं जनताको पक्षमा आवाज उठाउनुभयो। उहाँको निधनले पार्टी मात्र होइन, समग्र समाजले एक सचेत नागरिक, एक जनसेवी र एक आदर्श अगुवा गुमाएको छ।”

राजनीतिक यात्रा र संघर्षपूर्ण जीवन

स्वर्गीय टान बहादुर केसी किशोर अवस्थाबाटै वामपन्थी राजनीतिको यात्रामा लाग्नुभएको थियो। पञ्चायती शासनका कठिन समयदेखि नै उहाँले जनचेतना र वर्गीय संघर्षका पक्षमा निडर भएर आवाज उठाउनुभयो।

२०४६ सालको जनआन्दोलनमा उहाँको सक्रिय सहभागिताले रुपन्देही र आसपासका क्षेत्रमा संगठन सुदृढीकरणमा नयाँ उर्जा भरेको थियो। त्यसपछि उहाँले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म जनमोर्चाको संगठन विस्तारमा जीवन समर्पित गर्नुभयो।

उहाँको नेतृत्वमा रुपन्देहीमा राष्ट्रिय जनमोर्चा सबल, अनुशासित र जनमुखी संगठनका रूपमा उभिन सफल भयो। उहाँले सधैं किसान, मजदुर, शिक्षाकर्मी, युवाहरू र विपन्न वर्गका मुद्दा उठाउँदै जनताको अधिकारका लागि संघर्ष गर्नुभयो।

 

समाजसेवा र मानवीय योगदान

राजनीतिमा मात्र होइन, सामाजिक सेवामा पनि टान बहादुर केसीको योगदान अतुलनीय रह्यो।
उहाँले अर्घाखाँची र रुपन्देहीमा लामो समय बस्दै विद्यालय सुधार, सहकारी सशक्तीकरण, स्वास्थ्य र शिक्षा अभियानहरूमा अग्रसर रहनुभयो।

विपन्न र अशक्त नागरिकका लागि राहत संकलन, प्राकृतिक विपत्तिका समयमा सहयोग र सामुदायिक विकासमा नेतृत्व दिनु उहाँको दैनिकी थियो।
उहाँ सधैं मिलनसार, मृदुभाषी र अनुशासित व्यक्तित्वका रूपमा सबैको मनमा प्रिय नेता बन्नुभएको थियो।

 

प्रवासी नेपालीका पक्षमा सक्रियता

राजनीतिक जीवनसँगै स्व. टान बहादुर केसीले लामो समयसम्म मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दिल्लीमा रहेर प्रवासी नेपालीहरूको अधिकारका पक्षमा काम गर्नुभएको थियो।
उहाँले भारतमा रहेका नेपाली श्रमिकहरूको हकहितका लागि आवाज उठाउँदै सामाजिक न्याय, श्रम अधिकार र नेपाली एकताको सन्देश फैलाउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

 

भावनाले भरिएको श्रद्धाञ्जली कार्यक्रम

कार्यक्रममा सहभागीहरूले केही क्षण मौन धारण गरी स्वर्गीय केसीप्रति श्रद्धा प्रकट गरेका थिए।
त्यसपछि परिवारको तर्फबाट उहाँका जेठा छोरा राजन केसीले श्रद्धाञ्जली मन्तव्य राख्दा सभाहलमा गहिरो भावनात्मक वातावरण छायो।

राजन केसीले भावुक हुँदै भने,

 “हामीले उहाँबाट सत्य बोल्न, जनताको पक्षमा उभिन र जीवनभर सिद्धान्त नत्याग्न सिक्यौं। उहाँ हाम्रो परिवारको मात्र होइन, रुपन्देहीकै गौरव हुनुहुन्थ्यो।”

उनको मन्तव्यका क्रममा सभाहल केही क्षणका लागि सन्नाटामा डुब्यो र उपस्थित सबैको आँखा रसाए।

 

असमयिक निधन, अपूरणीय क्षति

भाइटिकाको दिन हृदयघातका कारण टान बहादुर केसीको निधनले रुपन्देही मात्र होइन, सम्पूर्ण वाम आन्दोलन र स्थानीय समाजलाई गहिरो शोकमा डुबाएको छ।
उहाँको निधनले राष्ट्रिय जनमोर्चा रुपन्देहीले एक सशक्त, इमानदार र दूरदर्शी नेतृत्व गुमाएको महसुस गरेको छ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले स्व. टान बहादुर केसीका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ।

श्रद्धाञ्जली कार्यक्रममा रुपन्देहीका विभिन्न वडास्तरका जनमोर्चा कार्यकर्ता, स्थानीय अगुवा, शिक्षक, पत्रकार, बुद्धिजीवी, युवा र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्व. टान बहादुर केसीको आदर्श, निष्ठा र जनसेवाको बाटो निरन्तर अघि बढाउने प्रतिज्ञा व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation