झिमरुक–५ मा ७५ वर्षीया अपाङ्ग वृद्धा लुटपाटको सिकार, कडा कारबाहीको माग

 

झिमरुक (प्यूठान), कात्तिक १६ ।
झिमरुक गाउँपालिका–५ ढाँडा, ददेरीस्थित एक ७५ वर्षीया अपाङ्ग वृद्धा आज दिउँसो घरमै लुटपाटको सिकार भएकी छन्। घटना सार्वजनिक भएपछि स्थानीयबासी आक्रोशित भएका छन् र दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

अखिल छैटौंका अध्यक्ष सुबास जिस बाट  प्राप्त जानकारी अनुसार ती वृद्धा आफ्ना श्रीमान् सँगै भाडामा बस्दै आउनुभएको थियो। आज दिउँसो उनका श्रीमान् घरमा नभएको बेला एक अज्ञात व्यक्ति घरभित्र पसेर वृद्धामाथि लछारपछार गरेको र कानमा लगाएको सुनको गहना लुटेर भागेको बताइएको छ।

लुटपाटका क्रममा वृद्धाको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। घटनापछि छिमेकीहरूले उनलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगेका छन्।

स्थानीयवासीहरूले यस्तो घटना अत्यन्त निन्दनीय भएको बताएका छन्। उनीहरूले भने,

“दिउँसोको समयमा वृद्ध र अपाङ्ग बुढीआमालाई घरमै कुटपिट गरेर लुट्ने जस्तो घट्ना सभ्य समाजको लागि लज्जास्पद हो। दोषी जसै भए पनि तुरुन्त पक्राउ परेर कडा कारबाही हुनुपर्छ।”

 

समुदायका अन्य सदस्यहरूले पनि आफ्नो वरपरका शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाउन सबैलाई अनुरोध गरेका छन्।

प्रहरीले घटना बारे प्रारम्भिक अनुसन्धान थालेको र लुटपाटमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation