रूपन्देही । रूपन्देहीको शुद्धोधनमा सञ्चालनमा रहेको ‘फस्ट च्वाइस फुड लिमिटेड’ ले उत्पादन गरेको फ्रेन्च फ्राई पहिलो पटक अमेरिकातर्फ निर्यात गरिएको छ । बुटवलका व्यवसायी कृष्ण पौडेलको लगानीमा सञ्चालित यस उद्योगबाट तयार पारिएको फ्रेन्च फ्राई भैरहवा भन्सार हुँदै कलकत्ता बन्दरगाहमार्फत अमेरिकी बजार तर्फ पठाइएको हो ।
उद्योगका अनुसार नेपालकै सबैभन्दा ठूलो फ्रेन्च फ्राई उद्योग ‘फस्ट च्वाइस फुड लिमिटेड’ले स्थानीय स्तरमै संकलित नेपाली आलुबाट उच्च गुणस्तरको फ्रेन्च फ्राई उत्पादन गर्दै आएको छ । अमेरिकाजस्ता विकसित मुलुकमा नेपाली कृषिजन्य वस्तु निर्यात हुनुले नेपालको कृषि र उद्योग क्षेत्र दुवैमा नयाँ सम्भावना र आत्मविश्वास जगाएको छ ।
व्यवसायी कृष्ण पौडेलका अनुसार, “अमेरिकातर्फ फ्रेन्च फ्राई निर्यात हुनु केवल हाम्रो कम्पनीको उपलब्धि मात्र होइन, यो सम्पूर्ण नेपालीको गर्वको विषय हो ।”
नेपालबाट कृषिजन्य वस्तुको निर्यातलाई ‘मेड इन नेपाल’ ब्रान्डको विश्व बजारमा विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा पनि हेरिएको छ ।











