काठमाडौं, कात्तिक १९ । देशका प्रमुख वामपन्थी दलहरूबीच अन्ततः बहुप्रतिक्षित एकता घोषणा भएको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० वाम दल र समूहहरूले ९ बुँदे सहमति गर्दै एउटै “नेपाली कम्युनिस्ट पार्टी” गठन गर्ने निर्णय गरेका छन्।
भृकुटीमण्डपमा बुधबार आयोजित विशेष कार्यक्रममा एकता घोषणा गर्दै दलहरूले आगामी ६ महिनाभित्र एकीकृत पार्टीको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति जनाएका छन्।
घोषणा कार्यक्रममा प्रस्तुत प्रस्ताव अनुसार, नयाँ पार्टीको मार्गदर्शन सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहनेछ। पार्टीको चुनाव चिन्ह पाँचकुने तारा तय गरिएको छ।
एकता प्रक्रियामा सहमति भएका दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायतका समूहहरू समावेश छन्।
नवगठित पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाललाई चयन गरिएको छ। पार्टीको केन्द्रीय समिति साविकका दलहरूको संरचना मिलाएर आपसी सहमतिमा पुनर्गठन गरिने बताइएको छ।
नेता तथा कार्यकर्ताहरूले “नेपाली कम्युनिस्ट पार्टी” नाममा नयाँ यात्राको घोषणा गर्दै वामपन्थी आन्दोलनलाई एकीकृत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।











