बुटवल, कार्तिक २० ,जेन–जी आन्दोलनपछि पहिलो पटक बुटवल आइपुगेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई चुनावबाट भाग्ने भन्ने कुरा निराधार भएको बताएका छन्।
बुधबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, “एमाले कुनै पनि हालतमा चुनावबाट भाग्दैन, तर निष्पक्ष र भरपर्दो वातावरण बनाउने जिम्मा सरकारकै हो।”
उनका अनुसार सरकारले आवश्यक तयारी, सुरक्षा व्यवस्था र दलहरूबीच आपसी विश्वास निर्माण नगरेकाले अहिले एमाले संसद् पुनःस्थापनाको पक्षमा उभिएको हो।
पौडेलले भने, “अहिलाको राजनीतिक निकास संसद् पुनःस्थापनाबाटै सम्भव छ। त्यसपछि संविधानको मार्गदर्शनअनुसार देश अघि बढाउनुपर्छ।”
जेन–जी आन्दोलनपछि बुटवल फर्केका उनले आफ्ना क्षेत्रका कार्यकर्ताहरूसँग भेटघाट गर्दै पार्टीको आगामी रणनीति र संगठन सुदृढीकरणबारे पनि छलफल गरेका छन्।
“हामी चुनावका लागि सधैं तयार छौं,” पौडेलले जोड दिए, “तर जनताको विश्वास जित्ने वातावरण बलपूर्वक होइन, पारदर्शिता र निष्पक्षताबाट बन्नुपर्छ।”











