मुख्यमन्त्री आचार्यको घरमा आगजनी र तोडफोडको आरोपमा तीन जना पक्राउ

 

रुपन्देही — लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भूमिकास्थान नगरपालिका–१ का गुरुदेव खनाल (हाल सन्धिखर्क–२ घोचेखोला बसोबास), सन्धिखर्क–२ भक्तिटोलाका पुष्कर पौडेल र सोही वडाका चूरामणि ढुंगाना छन्। उनीहरूलाई अर्घाखाँची जिल्ला अदालतको अनुमति अनुसार बुधबार सन्धिखर्कबाट पक्राउ गरिएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए।

शर्माका अनुसार उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी कसुर अन्तर्गत पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

भदौ २४ गतेको जेन–जी आन्दोलन का क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो। यसबारे मुख्यमन्त्रीकी श्रीमती दीपा आचार्यले असोज अन्त्यतिर खनाल, पौडेल, ढुंगानासहित ११ जनाविरुद्ध अर्घाखाँची जिल्ला अदालतमा जाहेरी दर्ता गराएकी थिइन्।

जाहेरीमा अन्य अभियुक्तका रूपमा सन्धिखर्कका माधव भण्डारी, मदन परियार, विनोद मगर, कमल घिमिरे, कुशल चुँदाली, अर्जुन चुँदाली, सुन्दर भारती र विशाल कँडेललाई समेत उल्लेख गरिएको छ।

दीपा आचार्यले खनाल, पौडेल र ढुंगानालाई मुख्य योजनाकारका रूपमा जोहेरीमा नामसमेत टिपाएकी थिइन्। बाँकी आठ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जाहेरीअनुसार घर तोडफोड र आगलागी हुँदा भौतिक संरचना र सामग्री गरी करिब ९५ लाख रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ।

भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा मुख्यमन्त्री आचार्यको घरसहित अर्घाखाँचीमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाका कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation