बुटवलमा लायन्स क्लबद्वारा ट्राफिक व्यवस्थापनका लागि ‘पार्किङ बोर्ड’ हस्तान्तरण

कार्तिक २०

शंकर प्रसाद पोख्रेल

रुपन्देही — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, नेपालले सडक तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले बुटवलस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई Parking/No Parking बोर्ड हस्तान्तरण गरेको छ।

 कार्यालय परिसरमा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पीका पदाधिकारीहरूले १११ थान पार्किङ तथा नो–पार्किङ बोर्डहरू कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्मालाई औपचारिक रूपमा हस्तान्तरण गरे।

कार्यक्रममा प्रहरी प्रशासन र लायन्स क्लबका पदाधिकारीबीच आत्मीय सहकार्यको वातावरण देखिएको थियो। हस्तान्तरण समारोहका क्रममा लायन्स प्रतिनिधिहरूले सडक दुर्घटना न्यूनीकरण र सहरको ट्राफिक व्यवस्थापनमा नागरिक सचेतना अभिवृद्धि गर्न निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

प्रहरी उपरीक्षक शर्मा‌ले समाजसेवी संस्था लायन्स क्लबले गरेको यस प्रकारको सहयोगले ट्राफिक व्यवस्थापनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै, प्रहरी प्रशासनले पनि सडक सुरक्षा र जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताए।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पीका तर्फबाट पदाधिकारीहरूले सामाजिक उत्तरदायित्व र नागरिक सहयोगलाई आफ्नो प्रमुख ध्येयका रूपमा अघि बढाइरहेको र देशका विभिन्न स्थानमा ट्राफिक सचेतना, सडक संकेत, र सार्वजनिक सरसफाइ अभियानमा निरन्तर संलग्न रहेको जानकारी दिए।

कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, प्रहरी कर्मी, पत्रकार तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समारोहको अन्त्यमा सहभागीहरूले बुटवललाई व्यवस्थित, सुरक्षित र सभ्य सहर बनाउन सबै तहबाट सहयोग र एकता आवश्यक रहेको धारणा व्यक्त गरे।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation