सरकारको गलत नीतिको सिकार युवा पुस्ता बने – थापा

दिनेश रैदास

दाङ — राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार तथा अखिल (छैठौं) का पूर्व महासचिव सुरेश थापाले सरकारको नीति राम्रो नहुँदा त्यसको सिकार युवा पुस्ता बनेको बताउनुभयो।

उहाँले भन्नुभयो, “सरकारको शिक्षानीति सही छैन। उत्पादनमुखी र स्वरोजगारमुखी शिक्षा छैन, प्राविधिक ज्ञान र सीप सिकाइको अवसर सीमित छ। उपलब्ध प्राविधिक शिक्षा पनि महँगो छ र आम नागरिकको पहुँचभन्दा बाहिर छ। युवाहरूलाई राजनीतिक सचेतनाबाट टाढा राखिएको छ, जसको असर आजका सरकार सञ्चालकहरूमा समेत देखिन्छ।”

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौं) जिल्ला समिति दाङले “देशको वर्तमान राजनीतिक अवस्था र युवा पुस्ताको भूमिका” विषयक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै उहाँले सो कुरा बताउनुभएको हो। उहाँले अगाडि थप्नुभयो, “युवाहरूले राजनीति गर्न हुँदैन भन्ने सोचले नै देशलाई पछाडि धकेलेको हो।”

त्यसैगरी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा अखिल (छैठौं) का पूर्व केन्द्रीय सचिव गणेश आचार्यले राजनीतिक सचेतनाको अभावका कारण देश अराजकताको भुमरीमा फसेको बताउनुभयो। उहाँका अनुसार, “जेनजी आन्दोलनमा सहभागी युवाहरूमा राजनीतिक चेत नहुँदा हिजो तिनै भ्रष्ट दलहरूले उनीहरूलाई उपयोग गरे, र आज भ्रष्टाचारको विरोध गर्ने नाममा राजनीतिक मुद्दाविना विदेशी घुसपैठियाहरूले प्रयोग गरिरहेका छन्।”

आचार्यले देशको शिक्षानीति, बेरोजगारी, भ्रष्टाचार र अनियमितताका विषयमा विस्तृत रुपमा प्रकाश पार्नुभयो।

कार्यक्रम अखिल (छैठौं) दाङका जिल्ला अध्यक्ष सेबक भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष भट्टराईले विद्यार्थी आन्दोलनको इतिहास र महत्त्वबारे प्रशिक्षण दिँदै उपस्थित सबै विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण जिल्ला सचिव दिनेश रैदासले गर्नुभएको थियो।

कार्यक्रममा अखिल नेपाल युवा संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोखरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जीसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर घर्ती, अखिल नेपाल किसान महासंघ दाङका सचिव मनिराम खनाल, अखिल नेपाल युवा संघ लुम्बिनी प्रदेश सदस्य दीपक केसी, जातीय समता समाज दाङका सचिव बलदेव बिक, रक्तिम सांस्कृतिक अभियान घोराही नगर अध्यक्ष उत्सव पुन, उपाध्यक्ष रोजन घर्ती, अखिल नेपाल महिला संघ घोराही नगर उपाध्यक्ष सुसिला नेपाली, तथा जातीय समता समाज जिल्ला कोषाध्यक्ष पोषण नेपाली लगायतको आतिथ्यता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation