नयाँ दिल्ली, नोभेम्बर ७, २०२५ — मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४७औं स्थापना दिवसको अवसरमा “प्रवासी नेपालीको मताधिकार र नेपालको जेन्जी आन्दोलन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम नयाँ दिल्लीको राजाराम मोहन राय मेमोरियल हल (आईटिओ) मा सम्पन्न भएको थियो।
कार्यक्रममा आयोजक समितिको तर्फबाट अध्यक्ष प्रेम पौडेलले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ (अफ्फा) का अध्यक्ष भैरवराज रेग्मी, विशिष्ट अतिथि मूल प्रवाहका निवर्तमान अध्यक्ष ठाकुर खनाल रहेका थिए।
अन्य अतिथिहरूमा अधिवक्ता माधव पोखरेल, प्रवासी नेपाली संघका रामप्रसाद पराजुली, बहराइन नेपाली एकता समाजका पूर्व महासचिव एल.बी. राना, पत्रकार महासंघ भारत शाखाका सचिव तथा ग्लोबल गोर्खा टाइम्स का इन्द्रकमल जैरु, एनबीआई न्यूज का हेमन्त अधिकारी, युगदर्शन का संवाददाता तथा नेपाली एकता का समाधान संयोजक खिमराज चालिसे लगायतको उपस्थिती थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले भन्नुभयो,
“नेपालको राजनीतिक अवस्था अहिले अत्यन्तै तरल र अनिच्छित बनेको छ। जेन्जी आन्दोलन कुनै संगठित राजनीतिक वा वैचारिक समूह होइन, यो पश्चिमले ‘Gen-Z’ नाम दिएको उमेर समूह हो जसलाई साम्राज्यवादी शक्तिहरूले योजनाबद्ध रूपमा प्रयोग गरेका छन्। भाद्र २३–२४ का घटनाहरू आकस्मिक होइनन्, ती लामो तयारी र रणनीतिअन्तर्गत भएका हुन्।”
उहाँले थप्नुभयो, “देशमा भएको आगजनी र तोडफोडमा कांग्रेस–एमालेभित्रका असन्तुष्ट समूहहरूको पनि संलग्नता छ। भ्रष्टाचार र कुशासनले जनतामा निराशा जन्माएको छ, र यही निराशाले जनआक्रोशको रूप लिएको हो। हालको सरकार असंवैधानिक छ र विदेशी दबाबमा सञ्चालन भइरहेको छ।”
रेग्मीले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै भने,
“संसद पुनर्स्थापना भए पनि मुठभेडको सम्भावना रहन्छ। ओलिको निरंकुश प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको छ। लोकतन्त्रको मूल्य–मान्यता जोगाउन नयाँ जनमत आवश्यक छ।”
विशिष्ट अतिथि ठाकुर खनालले प्रवासी नेपालीको मताधिकारलाई प्रत्येक नागरिकको मौलिक अधिकार र दायित्वका रूपमा व्याख्या गर्दै भने,
“अहिलेसम्म एकतिहाइ जनसंख्या मताधिकारबाट वञ्चित छ, जुन प्रवासी नेपालीमाथिको बेवास्ता हो। हामीले चलाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ, तर हामीलाई भोटको अधिकार छैन। मताधिकारसँगै समानुपातिक प्रतिनिधित्व पनि सुनिश्चित हुनुपर्छ।”
खनालले प्रवासीको परिभाषा स्पष्ट हुनुपर्नेमा जोड दिँदै भने,
“नेपाल सरकारले भारतलगायत सार्क देशमा बसोबास गर्ने नेपालीलाई प्रवासी नमान्दा विभेद भएको छ। लामो समयदेखि भारतमा बस्दै आएका केही नेपालीहरूलाई भारतीय नागरिकता झल्किने कागजातका कारण पक्राउ गरिनु दुर्भाग्यपूर्ण हो। यदि कसैले ती कागजातको दुरुपयोग गरेर अपराध गर्छ भने कानुनी कारबाही गर्नुपर्छ, तर जीविकोपार्जनका क्रममा प्रयोग गरेको कारणले पक्राउ गर्नु अन्याय हो।”
अधिवक्ता माधव पोखरेलले हाल सामाजिक सञ्जाल र भारतीय मिडियामा नेपाल र नेपाली इतिहासविरुद्ध फैलिएको दुष्प्रचारप्रति चिन्ता व्यक्त गर्दै भने,
“भारतले माइग्रेसन नीति घोषणा गरेपछि केही दिनमै नेपालमा जेन्जी आन्दोलन起 हुनु केवल संयोग होइन, यसमा योजना लुकेको छ। यसरी नेपाल र नेपालीलाई धम्क्याउने प्रवृत्ति रोक्न आवश्यक छ।”
कार्यक्रममा रामप्रसाद पराजुलीले मूल प्रवाहको ऐतिहासिक यात्रा, सामुदायिक आन्दोलन र प्रवासी नेपालीको हकहितका पक्षमा संगठनले खेलेको भूमिकाबारे मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासी नेपालीका अधिकार सुनिश्चित गर्न, मताधिकार व्यवस्था लागू गर्न तथा नेपालमा बढ्दै गएको राजनीतिक अराजकता विरुद्ध सचेतना फैलाउन मूल प्रवाहको अग्रणी भूमिका आवश्यक रहेको निष्कर्ष निकाल्नुभएको थियो।
कार्यक्रम उपाध्यक्ष कपिल खनालको अध्यक्षता , माहासचिब त्रिभुवन भट्टराइको सन्चालन , सचिब सालिकराम आचार्यको स्वागात मन्तब्य सहिद हरुको सम्मानमा एक मिनट मौन धारण र कलाकारको स्वागत गितबाट अगाडि बढेको थियो ।











