बुटवल, कार्तिक २३ ।
बुटवल सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम बुटवल–७ स्थित सिद्धेश्वर स्कुलको प्राङ्गणबाट सुरु भई श्रवणपथ, भुड्कीचोक हुँदै राजमार्ग चौराहासम्म पुगेको थियो। सहकारीले स्थापना दिवसको दिन समुदायमा सरसफाई र स्वच्छताबारे सचेतना जगाउने तथा वातावरणमैत्री सन्देश प्रवाह गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रम उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संस्थालाई स्थापना दिवसको शुभकामना व्यक्त गर्दै सफा, स्वस्थ र समृद्ध सहर निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले फोहोर व्यवस्थापनमा देखिएका कानुनी जटिलता र चुनौतीहरूलाई सहकार्य र सचेतनाले समाधान गर्न सकिने धारणा पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्व नगर प्रमुख तथा सहकारीका सल्लाहकार शिव सुवेदी, वडा नं. ७ का वडा अध्यक्ष पदमराज गाहा, सहकारीका सञ्चालक समिति, सल्लाहकार, लेखा समिति, विभिन्न टोल विकास समितिका अध्यक्षहरू, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सल्लाहकार सुवेदीले आफ्ना भनाइमा फोहोर व्यवस्थापनलाई आधुनिक र वैज्ञानिक पद्धतिबाट लागू गर्न सके फोहोर नै आय–स्रोत बन्न सक्ने बताउनुभयो। उहाँले कुहिने फोहोरलाई जैविक मलका रूपमा उपयोग गर्न सकिने र नकुहिने फोहोरलाई पुनःप्रयोगमार्फत आर्थिक मूल्य सिर्जना गर्न सकिने स्पष्ट पार्नुभयो।
त्यस्तै, संस्थाका अध्यक्ष कृष्ण बहादुर कार्कीले सरसफाई अभियानमा सहभागी भई सहकार्यको भावना प्रकट गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले सहकारीले आगामी दिनमा अझ परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै, सामुदायिक सहभागिता र पारदर्शिताले संस्था निरन्तर सुदृढ बन्दै गएको उल्लेख गर्नुभयो। साथै, वातावरण संरक्षणका थप प्रभावकारी योजना ल्याइने जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन तथा समन्वय सचिव गेहेन्द्रराज न्यौपानेले गर्नुभएको थियो भने, कार्यक्रममा उल्लेखनीय उपस्थिति रहँदा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको सहकारीका व्यवस्थापक कमल पोख्रेलले जानकारी दिनुभयो।











