नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

२४ कार्तिक २०८२, सोमबार — काठमाडौं

नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका कार्की प्रहरीका वरिष्ठतम एआईजी हुन्। उनका पूर्ववर्ती चन्द्रबहादुर खापुङ ३० वर्षे सेवा अवधि पूरा गर्दै बुधबार अवकाशमा जाँदैछन्।

कार्कीले २०८४ चैत १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन्। उनले २०५४ चैत १८ मा प्रहरी निरीक्षकका रूपमा सेवा आरम्भ गरेका थिए। त्यसयता क्रमशः डीएसपी, एसपी, एसएसपी, डीआईजी हुँदै एआईजीसम्म उक्लिएका हुन्।

सेवाकालमा कार्की काठमाडौँ प्रहरी परिसरका प्रमुख, प्रहरी महानिरीक्षकको सचिवालयमा सदस्य, केन्द्रीय प्रवक्ता र लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत रहिसकेका छन्। २०८२ वैशाखमा एआईजीमा बढुवा हुँदा उनी पहिलो नम्बरमा परेका थिए।

उनको ब्याचका राजन अधिकारी र मनोजकुमार केसी समेत एआईजी बनेका थिए। कार्कीको नियुक्तिसँगै अब उनले प्रहरी संगठनको नेतृत्व गर्दै आगामी कार्यकालमा सुरक्षा, प्रशासनिक सुधार र अपराध नियन्त्रणमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation