शंकर प्रसाद पोख्रेल
रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गे क्षेत्रमा आज दुर्लभ सर्प प्रजाति किङ कोब्रा (राजगमन) भेटिएको छ। सर्प उद्धारकर्ता बिशाल पाण्डेका अनुसार भेटिएको उक्त किङ कोब्रा १२ फिट ३ इन्च लम्बाई र ७ किलो २ सय ग्राम तौलको रहेको छ। सामान्यतया पहाडी भू–भागमा पाइने यो प्रजाति तराईमा भेटिनु निकै असामान्य घटना मानिएको छ।
तीन घण्टासम्मको प्रयासपछि उद्धार टोलीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको थियो। यसअघि झण्डै १४ वर्षअघि बुटवलको फूलबारी क्षेत्रमा मृत किङ कोब्रा फेला परेको स्मरण गरिएको छ।
उद्धार कार्यमा बिशाल पाण्डेको नेतृत्वमा बुटवल स्नेक रेस्क्यु टिमका नवीन पौडेल, सागर पाण्डे, विश्वास पाण्डे लगायत सदस्यहरू संलग्न थिए। उद्धारपछि वन डिभिजन कार्यालयको रोहरबरमा सर्पलाई सर्जमिन गरी उसको प्राकृतिक बासस्थानमा पुनः छोडिएको बताइएको छ।
नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्रा अत्यन्त दुर्लभ मानिन्छ। सर्प विज्ञहरूका अनुसार यो प्रजाति अत्यन्त विषालु भए पनि नेपालमा मानिसलाई टोकेको घटना अहिलेसम्म दर्ता भएको छैन। यसको मुख्य आहार अन्य सर्प प्रजातिहरू हुने भएकाले वन्यजन्तु संरक्षणका लागि यसले विशेष पारिस्थितिक भूमिका निर्वाह गर्छ।
सर्प विज्ञहरूले पछिल्ला वर्षहरूमा नेपालका मध्यपहाडी क्षेत्रमा किङ कोब्राको उपस्थिति बढ्दै गएको भन्दै यसको संरक्षणमा राज्यले विशेष पहल गर्नुपर्ने सुझाव दिएका छन्।











