एक वर्षमा २७९ जनाको उद्धार, ७ हजार ७१५ जनालाई परामर्श — शान्ति पुनःस्थापना गृह

रुपन्देही , भैरहवा

“हाम्रो आह्वान, मानव बेचबिखन विरुद्धको अभियान” भन्ने मूल नारासहित शान्ति पुनःस्थापना गृह, सिनपा–१ बेलहिया, रुपन्देहीले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रमहरूको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष शान्ता सापकोटाले गर्नुभएको थियो भने जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चपाईले रुपन्देही जिल्ला भारतसँग जोडिएको सीमाक्षेत्र भएकाले मानव बेचबिखन तथा ओसारपसारको जोखिम उच्च रहेको उल्लेख गर्दै, “यो केवल सामाजिक संघसंस्थाको जिम्मेवारी होइन, सबैले हातेमालो गर्दै यसको अन्त्यका लागि जुट्नुपर्छ,” भन्नुभयो। उहाँले स्थानीय तहले सञ्चालन गरेका सीप विकास तालिमहरूमा जोखिममा रहेका महिला र बालबालिकालाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो। साथै, जिल्ला समन्वय समितिले रुपन्देहीलाई नमुना जिल्ला बनाउन निरन्तर प्रयासरत रहेको बताउनुभयो।

संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानव बेचबिखनको जोखिममा परेका महिला र बालबालिकाको उद्धार नै आफ्नो पहिलो लक्ष्य रहेको बताउनुभयो। उहाँले बेरोजगारी र कानुनको कमजोर कार्यान्वयनलाई प्रमुख चुनौती बताउँदै, मानव बेचबिखन सम्बन्धी विषयहरू पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो। उहाँका अनुसार, नेपालका चेलीहरूलाई प्रलोभनमा पारेर विदेशी मुलुकमा अवैध कार्यका लागि प्रयोग गरिने क्रम अझै पनि रोकिएको छैन, जसलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो।

गृहकी सुपरभाइजर अञ्जु चौधरीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन अनुसार, संस्थाले २०८१/८२ मा २७९ जनाको उद्धार र ७,७१५ जनालाई परामर्श प्रदान गरेको छ।
जसअनुसार—

बेलहिया नाकाबाट १७४ जनाको उद्धार, र ५,५४० जनालाई परामर्श

बुटवल क्षेत्रबाट १०५ जनाको उद्धार, र २,१७५ जनालाई परामर्श गरिएको हो।

प्रदेशगत रूपमा हेर्दा—

रुपन्देहीबाट १२२ जना उद्धार, २,४८४ जना परामर्श

कपिलवस्तुबाट १० जना उद्धार, २३१ जना परामर्श

पश्चिम नवलपरासीबाट ३३ जना उद्धार, ७३८ जना परामर्श

पाल्पाबाट १८ जना उद्धार, ६५९ जना परामर्श

गुल्मीबाट १८ जना उद्धार, १,१०२ जना परामर्श

अर्घाखाँचीबाट ४ जना उद्धार, ३०६ जना परामर्श

प्युठानबाट ४ जना उद्धार, १६६ जना परामर्श

रोल्पाबाट २ जना उद्धार, ३५ जना परामर्श

दाङबाट ५ जना उद्धार, १२० जना परामर्श

बाँकेबाट १ जना उद्धार, १३ जना परामर्श

बर्दियाबाट ३ जना उद्धार, ३४ जना परामर्श गरिएको प्रतिवेदनमा उल्लेख छ।

गृहले सीमा निगरानी, उद्धार, पुनःस्थापना, जनचेतना, क्षमता विकास, तथा अन्तरदेशीय समन्वय लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइयो।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले लैङ्गिक हिंसा पीडित महिलाहरूको पुनःस्थापना र सशक्तीकरणमा संस्थाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता सामाजिक लेखा परीक्षण कार्यक्रमले संस्थाको पारदर्शिता र विश्वसनीयता बढाउने उल्लेख गर्नुभयो।

सल्लाहकार युवराज खरेलले संस्थाका कार्यहरूले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको भन्दै यसको निरन्तरता र सुदृढिकरण आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले कानुनी सल्लाह र सहयोगमार्फत पीडितलाई न्याय दिलाउन सरकारी निकाय सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो।

सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज गुरुङले महिला हिंसा न्यूनीकरणका लागि प्रहरी प्रशासन निरन्तर सचेतना र निगरानीमा सक्रिय रहेको बताउँदै, नागरिक समाज र संस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत अदित ठाकुरले मानव अधिकार र महिला अधिकार संरक्षणमा शान्ति पुनःस्थापना गृहले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउँदै, आगामी दिनमा पनि आयोगको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. भैरहवाका अध्यक्ष सुरेन्द्र कुमार क्षेत्रीले संस्थाको समाजसेवामूलक कार्य प्रशंसनीय रहेको भन्दै, निजी क्षेत्र पनि यस्ता सकारात्मक अभियानमा सहकार्यका लागि सधैं तयार रहने बताउनुभयो।

कार्यक्रमको सञ्चालन शान्ति पुनःस्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भुमीराज भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, संघसंस्थाका पदाधिकारी र स्थानीय समुदायका व्यक्तिहरूको व्यापक सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation