शंकर प्रसाद पोख्रेल
भारतको पंजाब राज्यको संगरुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा आयोजित एकदिवसीय प्रशिक्षण कार्यक्रम १५ नोभेम्बर २०२५ का दिन सम्पन्न भएको छ।
कार्यक्रमको उदघाटन मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले प्रमुख अतिथिको आसनबाट गर्नु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भट्टराईले “बाम घटकहरूको एकता सिद्धान्तहीन एकता हो” भन्ने धारणा प्रष्ट पार्दै हाल देखिएको वामपन्थी एकता सत्ता र कुर्सिमुखी भएको बताउनुभयो। एकताको नाममा सिद्धान्त बिनाको मेलमिलाप देशको राजनीतिक स्थिरताका लागि दीर्घकालीन रूपमा हानिकारक हुने पनि उहाँले उल्लेख गर्नुभयो।
भट्टराईले भारतस्थित नेपालीहरूमाझ आधारकार्ड लगायतका दस्तावेजसम्बन्धी गम्भीर समस्या रहेको बताउँदै, ती समस्याका समाधानका लागि मूल प्रवाह ठोस योजना र कार्यदिशासहित अघि बढिरहेको जानकारी दिनुभयो।
सो प्रशिक्षण कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य नरबहादुर ओलीले अधिकार प्राप्ति संघर्षमार्फत मात्रै सम्भव हुने उल्लेख गर्दै, विदेशमा रहेका नेपालीहरूले आफ्नै हकहितका लागि संगठित रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
समारोहमा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य खेमराज पोखरेल, महिला क्षेत्रीय सदस्य लक्ष्मी पाण्डे, मञ्जु शर्मा, पूर्व महिला क्षेत्रीय सदस्य सुनिता भट्टराई, नगर संयोजक सीता शर्मा, सांस्कृतिक विभागका सदस्य राजु खनाललगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम नारायण भुसालको अध्यक्षता, रामप्रसाद खनालको संचालन तथा बाबुराम परियारको स्वागत मन्तव्यसहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।











