रुपन्देही । बुटवल बसपार्कबाट श्रीमतीको हत्या आरोपमा फरार रहेका एक युवा पक्राउ परेका छन्। बागलुङ निसीखोला–६ का ३२ वर्षीय विजय उर्फ वीरबहादुर कुँवरलाई प्रहरीले साँझै पक्राउ गरेको हो।
मंसिर २७ गते बिहान सिद्धार्थनगर–८, लुम्बिनी गेटस्थित होटल लुम्बिनी गेटमा काम गर्दा आएकी २० वर्षीया मेलिना परियार स्टाफ क्वार्टरभित्र मृत फेला परेकी थिइन्। घटनास्थलमा गरिएको प्रारम्भिक अनुसन्धानले **यो घटना ‘कर्तव्य गरी हत्या’**को श्रेणीमा पर्ने संकेत देखाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दम्पतीबीच सामाजिक सञ्जाल प्रयोगको विषयले निरन्तर तनाव भइरहने गरेका थिए। श्रीमानले मेलिना अन्य पुरुषसँग कुरा गर्छिन् भनी शंका गर्दै बारम्बार विवाद गर्ने गरेको विवरण बयानमार्फत खुलेको छ। घटना भएको दिन पनि दुवैबीच सोही विषयमा झगडा भएको र मादक पदार्थ सेवन गरेको अवस्थामा कुँवरले श्रीमतीको ज्यान लिएपछि भागेको प्रहरीको अनुमान छ।
हत्या गरेपछि फरार रहेका कुँवरलाई प्रहरीले विभिन्न सूचनाको आधारमा खोजी गर्दै गएको थियो। अन्ततः बुटवल उपमहानगर–९ को बसपार्क क्षेत्रमा लुकेर भाग्ने तयारीमा रहेका उनलाई मंसिर २८ गते साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।











