काठमाडौं, मंसिर १ गते ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खान र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङबीच सोमबार सिंहदरबारमा महत्वपू्र्ण भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा भैरहवा तथा सिद्धार्थनगरका प्रमुख सडक र बजार क्षेत्रमा रहेको ओभरहेड विद्युत लाइनलाई भूमिगत प्रणालीमार्फत प्रतिस्थापन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
मन्त्री घिसिङले यस योजनाप्रति पूर्ण र सकारात्मक प्रतिबद्धता व्यक्त गर्दै शीघ्र आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। उहाँले भैरहवाको तीव्र शहरीकरण, बढ्दो ऊर्जा माग, तथा विद्युत सुरक्षालाई ध्यानमा राख्दै भूमिगत प्रणाली निर्माणलाई प्राथमिक योजनाका रूपमा अघि सारिने बताउनुभयो।
नगर प्रमुख खानले भैरहवाको कोर सिटी क्षेत्रभित्रका मुख्य सडक—बैकरोड, गल्लामण्डी रोड, मैत्रीपथ, नारायणपथ र कोटहीमाई पथ—मा भूमिगत केबल बिछ्याउने कार्यका लागि ४१ करोड ३ लाख ५० हजार रुपैयाँको बहुवर्षीय बजेट आवश्यक पर्ने प्रस्ताव पेस गर्नुभएको थियो।
सो अवसरमा मन्त्री घिसिङले भन्नुभयोः
“भैरहवाको विस्तार, ऊर्जा आवश्यकता र शहरी सौन्दर्यलाई सम्बोधन गर्न भूमिगत विद्युत प्रणाली अपरिहार्य हुन्छ। यसले विद्युतीय दुर्घटना न्यूनिकरण, वातावरण संरक्षण तथा शहरको सौन्दर्य अभिवृद्धिमा उल्लेख्य योगदान पुर्याउनेछ। छिट्टै प्राविधिक टोली परिचालन गरी कार्यान्वयनका प्रारम्भिक चरणहरू अघि बढाइनेछ।”
त्यसैगरी, नगर प्रमुख खानले मन्त्री घिसिङको सकारात्मक प्रतिक्रियाप्रति आभार व्यक्त गर्दै भनेः
“सिद्धार्थनगर नेपाल–भारत सीमाको अत्यन्त व्यस्त व्यापारिक केन्द्र हो। यहाँका ओभरहेड विद्युत तारले बारम्बार दुर्घटना, झ्यालझ्याले समस्या र दृश्य अव्यवस्था सिर्जना गर्दै आएका छन्। मन्त्रीज्यूको आजको आश्वासनले शहरको दीर्घकालीन माग पूरा हुने आशा जगाएको छ। यस योजनाले स्थानीय बासिन्दालाई सुरक्षित, भरपर्दो र आधुनिक विद्युत सेवा प्रदान गर्नुका साथै शहरको पर्यटन आकर्षण बढाउनेछ। स्थानीय तहबाट हामी पूर्ण सहयोगका लागि तयार छौं।”











