मनिषा पराजुली
ठाउँ ठाउँमा फेरि असत्यका बादल बाक्लिँदै छन्
गल्लीगल्लीमा नाराको हावा चल्दैछ
पोस्टरका पानाले गाउँ सहरको अनुहार छोपि दिएको छ
मानौँ फेरि सुरु भएजस्तो
उही पुरानो नाटकको नयाँ दृश्य जुन हेर्ने रहर मलाई पटक्कै छैन
म त चाहन्छु
नयाँ नेतृत्व
नयाँ सत्तामा योग्य मानिस
जसमा दृढ शक्ति दूरदृष्टि होस् देशलाई परिवर्तन गर्ने भित्री चाह होस्।
थाहा छ
ती नेतृत्व पनि हाम्रै रोजाई हुनेछन्
जसले हाम्रो आवाज सुनिदिनेछन् र देश बनाउने छन्
तर फेरि हामी उही पुरानै पाइलामा चल्यौ भने ??
चुनावको रेल फेरि हुर्रिँदै आउँदैछ स्टेसन उही पर्खाई उही
भित्रका सिट मा मात्र हरेकपटक नयाँ नयाँ यात्रु चढिरहेका
टिकट चाहिँ जनताको भरोसाबाट काटिन्छ
र यात्राको नक्सा चालकले तय गर्छ
आशा छ
यसपालि सायद
रेल सही गन्तव्य पुग्ला
हामीले छानेका यात्रु र चालकले देशको भविष्य फेरिदेलान
चुनाव आउँदैछ
आशा र आक्रोश दुवै सम्हालेर
हामी अब असल नेतृत्वलाई देश बनाउन दिँदैछौं
जसले देश र देशवासीको मर्म कर्म र धर्म बुझ्नेछन्।
राष्ट्रले पारदर्शिताको रफ्तार खोज्दैछ
दूरदृष्टि ,इमान, स्थिरता खोज्दैछ सुशासन ,न्याय र शून्य भ्रष्टाचार खोज्दैछ
युवा पुस्ताको जोश
सही नेतृत्वको सम्भावना
देशले फेरि नयाँ अध्याय लेख्ने आकांक्षा खोज्दैछ।
हातका छाप मात्र होइनन्
मनको विश्वास पनि बोलोस् मस्तिष्कको सही उपयोगले भोलिको बाटो खुलोस्
आउँदै छ फेरि चुनाव
यसपालि अर्थपूर्ण बनाऔँ
आजैदेखि सोच बदल्दै
सद्बुद्धिको बाटो समाऔँ
मेरो एउटा सानो बिन्ती
उही पुरानै पाइला नचालिदिनुहोला
राष्ट्रको भविष्य गलत हातमा नपारिदिनुहोला।











