अमेरिकी उच्च सैन्य अधिकारी काठमाडौंमा, नेपाली सेनासँग ‘ल्यान्डफोर्स टक’ आजदेखि

 

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच हुने वार्षिक उच्चस्तरीय ‘ल्यान्डफोर्स टक’ (Landforce Talk) को छैटौँ संस्करण आज काठमाडौंमा सुरू हुँदैछ। उक्त छलफलमा सहभागी हुन अमेरिकी सेनाको उच्चस्तरीय तीन सदस्यीय टोली मंगलबार साँझ काठमाडौं आइपुगेको हो।

अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा काठमाडौं उत्रिएको टोलीमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना रहेका छन्। उनीहरू कोरियन एयरमार्फत राजधानी आइपुगेका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार तीन दिनसम्म चल्ने यो वार्तामा मानवीय सहायता, प्राकृतिक विपद् व्यवस्थापन, सैन्य सहयोग र क्षमतावृद्धि जस्ता विषयमा गहन छलफल हुनेछ।

छलफलमा परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीहरूले पनि सहभागिता जनाउनेछन्।

सन् २०१८ बाट सुरू भएको ल्यान्डफोर्स टक नेपाल र अमेरिकाबीच वर्षेनि आलोपालो हुँदै आएको छ। यस संवादलाई दुबै सेनाले रणनीतिक साझेदारी सुदृढ गर्ने महत्वपूर्ण कडीको रूपमा लिएको बताइएको छ।

नेपाली सेनाले हरेक वर्ष भारतीय सेनासँग ‘सूर्यकिरण’ र चिनियाँ सेनासँग ‘सगरमाथा फ्रेन्डसीप’ नामक संयुक्त अभ्यास गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation