बारा , सिमरा विमानस्थल परिसर आज दिउँसो पूर्ण रूपमा तनावग्रस्त बन्यो। काठमाडौँबाट नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेतलाई स्वागत गर्न विमानस्थल बाहिर भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबीच अचानक झडप भएपछि स्थिति जटिल बनेको हो।
बिहान ११ बजे सिमरा उत्रिने भनिएका दुई नेताको आगमनअघि नै विमानस्थलको मुख्य गेट नजिकैको क्यान्टिन क्षेत्र भीडले भरिएको थियो। त्यहीँबाट सुरु भएको बहस क्रमशः दोहोरो आरोप–प्रत्यारोप हुँदै झडपमा परिणत भएपछि विमानस्थल प्रशासनले सुरक्षाका कारण विमानस्थल बन्द गरेको छ।
झडपपछि आक्रोशित जेनजी समूहका प्रदर्शनकारीले विमानस्थल छिर्ने मार्ग अगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन्। धुँवा र भीडका कारण आसपासको वातावरण तनावपूर्ण बनेको छ। पुलिस परिचालन गर्दै प्रदर्शनस्थल खाली गर्न पटक–पटक आग्रह गरिए पनि प्रदर्शनकारी त्यसैगरी उत्रिएका छन्।
यात्रु, स्थानीय र व्यवसायी सबै प्रभावित बनेका छन्। विमानस्थल बन्द भएपछि आवत–जावत रोकिएको छ भने सुरक्षा निकाय उच्च सतर्कतामा छन्।
तस्बिर: फोटो लाइब्रेरी














