नयां चपरहट्टी टोलमा वातावरणमैत्री झोला वितरण

शंकर प्रसाद पोख्रेल

रुपन्देही। तिलोत्तमा नगरपालिका–१ अन्तर्गत पर्ने नया चपरहट्टी टोल विकास संस्थाले प्लास्टिकका झोलाको प्रयोग कम गर्न ‘प्लास्टिक न्युनिकरण अभियान’ सञ्चालन गर्दै टोलबासीलाई १९० थान कपडाका झोला (इको–ब्याग) वितरण गरेको छ। वातावरण संरक्षण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित अघि बढाइएको  संस्थाका अध्यक्ष कृष्ण प्रसाद कंडेलले बताउनुभयो।

समुदायलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले गरिएको यो पहल टोलभित्र वातावरणीय सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण कदम भएको अध्यक्ष कंडेलले बताउनुभयो। उहाँका अनुसार संस्थाले पछिल्ला वर्षमा सरसफाइ, सडक–बत्ती जडान, सामाजिक सहयोगजस्ता विभिन्न गतिविधिहरू गर्दै आएको र यस पटक पर्यावरणमैत्री व्यवहारलाई प्रोत्साहित गर्न कपडाका झोला वितरण गरिएको हो।

झोला वितरण कार्यक्रममा उपाध्यक्ष टीकादेवी ढकाल न्यौपाने, सचिव टोपराम पाण्डे, कोषाध्यक्ष संझना पाण्डे, सदस्यहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले प्लास्टिक प्रयोगको नकारात्मक प्रभावबारे जानकारी पाउँदै आफूले दैनिक जीवनमै यसको विकल्प अपनाउने प्रतिवद्धता जनाएका थिए।

टोल विकास संस्थाले कुल १९० घरपरिवारलाई प्रतिघर एक थान इको–ब्याग वितरण गरेको हो। भविष्यमा टोललाई सफा, हरियालीयुक्त र वातावरणमैत्री बस्तीका रूपमा विकसित गर्न संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

अध्यक्ष कंडेलले आगामी दिनहरूमा बाली संरक्षण, फोहोर व्यवस्थापन, हरियाली विस्तार, सामाजिक सहयोग, तथा युवा–बालबालिकालाई केन्द्रित सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको जानकारी पनि दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation