सेवा र श्रमको सन्देश: गोविन्द गिरी सडकछेउमै बस्दै केरा बिक्रीमा

 

शंकर प्रसाद पोख्रेल ,बुटवल 

झिमरुक–प्युठान । राजनीति शुद्धीकरण अभियानमा सक्रिय रहँदै आएका झिमरुक–प्युठानका गोविन्द गिरीले इमान्दार कामलाई सम्मान दिनुपर्ने सन्देशसहित आफ्नै बारीमा उत्पादन भएको केरालाई सडकछेऊमै बसेर बिक्री गरेका छन्। गिरीले फेसबुकमार्फत जानकारी दिँदै “आज मेरो चोखो आम्दानी रु २,२५० भयो” भनी हर्ष व्यक्त गर्नुभएको छ।

राजनीतिक सुधार र नैतिकताको वकालत गर्दै आएका गिरीको यो कदमले समाजमा श्रमप्रति सम्मान, स्वाभिमान र पारदर्शिताको गहिरो सन्देश दिएको छ। राजनीतिलाई सेवामुखी बनाउन निरन्तर आवाज उठाइरहेका गिरीले श्रमलाई लाजमान्नु नपर्ने र बारीमा फलाएको वस्तु बेच्नुजत्तिको गर्विलो काम अरू केही नहुने उल्लेख गर्नुभएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार गिरी जस्तो सामाजिक सचेतनाका अभियन्ताबाट यस्तो सकारात्मक व्यवहारले समुदायमा श्रमप्रतिको दृष्टिकोण परिवर्तन हुने अपेक्षा गरिएको छ। उनका शब्द र कर्मले युवापुस्तालाई ‘इमान्दार बाटो हिँड्न डराउन नपर्ने’ प्रेरणा दिएको प्रतिक्रिया आएको छ।

गिरीले गरेको यो सानो तर गहिरो प्रभाव पार्ने कार्यले राजनीति मात्रै होइन, समाजलाई नै सही दिशातर्फ डोर्याउने उदाहरण प्रस्तुत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation